कैलाली । सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना संक्रमणका कारण निधन भएको हो ।
उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचाररत मल्लको आज बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचीव धनसिंह साउदले जानकारी दिए ।चार दशकभन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै का नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए ।
बि.सं २०३७–२०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका थिए । २१ वर्षको उमेरबाट राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गाँउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए ।
पञ्चायत र पछिका दिनमा राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कैलालीको भजनी नगरपालिका –१ मा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर हुन ।
उनले स्नातकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भुषण पदक पनि पाएका थिए । उनले विद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तरप्रदेश राज्यको लखनउबाट पुरा गरेका थिए । मल्लका १ छोरा र १ छोरी छन् । रातोपाटीबाट