गाउँमै आपत्कालीन कोष घोषणा, एकैदिन ६ लाखभन्दा बढी जुट्यो

बेनी । कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी नगरपालिका–३,भकिम्लीबासीले आपत्कालिन कोष स्थापना गरेका छन्। प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी घोषणा गरेको कोषको पहिलो दिन ६ लाखभन्दा बढी जम्मा भएको छ । आइतबार स्वास्थ्य चौकीमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा जापानबाट पठाएको २ लाख ७४ हजार ५६१, मलेसियामा रहेका जयन्ती मावि भूपु विद्यार्थीहरुबाट १ लााख ८७ हजार ८८० र यूके, बेल्जियम र स्पेनबाट १ लाख ६५ हजार ७४० गरी आइतबार ६ लाख ३० हजार १८१ रुपैयाँ जम्मा भएको थियो ।

सोही अवसरमा वडा अध्यक्ष पुनले प्रवासमा रहेका भकिम्लीबासीबाट सधै सहयोग जुटाउनुपर्ने अवस्थाको अन्त्य गर्न भकिम्ली राहत कोषको स्थापनाको अभियान सुरु गरेको बताए ।कार्यविधि तयार भएपछि प्रवासमा रहेका भकिम्लीबासीसँग भर्चुअल छलफलबाट अनुमोदन गरी प्रयोगमा ल्याउने जनाइएको छ । कोषले विपन्नको हरेक प्रकारको उपचारमा सहयोग, राहत तथा स्वास्थ्य संस्था तथा अस्पताल पुग्न नसक्ने गरिब विपन्न वर्गका यातायातको साधनको समेत ब्यवस्था गरिने, अत्यावश्यक सामग्री खरिद लगायत विविध पक्षमा केन्द्रित हुने जनाइएको छ । भकिम्लीबासीले आपत्कालिन कोषलाई तत्काल २० लाख बनाउने लक्ष्य लिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार