विद्युत् विस्तारको माग राख्दै वडासदस्य अनसनमा

बैतडी । गाउँमा विद्युत् विस्तारको माग गर्दै बैतडीको मेलौली नगरपालिकाका जनप्रतिनिधिले नै आमरण अनसन सुरू गर्नुभएको छ। गाउँमा विद्युत् विस्तार नभएको भन्दै मेलौली–९ का वडासदस्य भीमदत्त भट्ट आमरण अनसनमा बस्नुभएको छ।

वडासदस्य भट्टसँगै स्थानीय बमबहादुर चन्द अनसनमा बसिरहनुभएको छ। उहाँहरूले मेलौली नगरपालिका भवनकै आँगनमै सोमबारदेखि अनसन सुरू गर्नुभएको हो। गाउँमा विद्युत् नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयबासीले अकालमा ज्यान गुमाउनु परिरहेकाले आमरण अनसनमा बसेको वडासदस्य भट्टले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘मेलौलीको ८ र ९ नं वडा चितुवाबाट प्रभावित वडा हुन्, चितुवाको आक्रमणबाट बच्नका लागि विद्युत् विस्तारको माग गरेर अनसनमा बसेका हौं।’मेलौली–८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत् पुगिसकेकाले त्यतैबाट विद्युत् विस्तारका लागि पहल गर्नुपर्ने उहाँहरूको माग छ।

यस आर्थिक वर्षभित्र विद्युत् विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनसन जारी रहने जनाइएको छ। नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत् विस्तारको कुरा आएकाले त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढाउनुपर्ने उहाँहरूको माग छ। माग पूरा नहुञ्जेलसम्म अनसन जारी रहने चेतावनीसमेत दिइएको छ।

यता नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत् विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताउनुभयो ।मेलौलीमा सबस्टेसन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयले प्रक्रिया अघि बढाइसकेकाले जतिसक्दो चाँडो होस् भनेर पालिकाका तर्फबाट समेत समन्वय भइरहेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘विद्युत् विस्तारको काम प्रक्रियामा अघि बढिसकेको छ, अनसन बस्नु खासै आवश्यक छैन, पालिकाका तर्फबाट सबै सरोकारवालालाई विद्युत् विस्तारका लागि पहल गरिरहेका छौं।’ यसअघि आइतबारमात्रै मेलौली–८ र ९ का स्थानीयवासीले विद्युत् विस्तारको माग गर्दै नगरप्रमुख नायकलाई ज्ञापनपत्रसमेत बुझाएका थिए।रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार