नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा एक डाक्टर पक्राउ

काठमाडौं । नेपाल मेडिकल काउन्सिल(एनएमसी)को प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर २ का ३६ वर्षीय विजयश्याम रंजितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताउनुभयो।

उनलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ३ महाराजगंजबाट पक्राउ गरेको हो। ‘हाम्रोमा अलि अगाडि नै उजुरी परेको थियो। उजुरी परेपछि हामीले भेरिफाइ गरेर उनलाई समातेका हौं,’ महतोले भन्नुभयो।

उहाँका अनुसार रंजितले सन् २०११ मा चीनबाट एमबिबिएस गरेका थिए। विदेशमा पढेर पास भए पनि नेपाल मेडिकल काउन्सिलको परीक्षा दिएर पास भएपछि मात्रै काम गर्न पाइने व्यवस्था छ।तर उनले सन् २०१२मा नेपाल आएर किर्ते कागज बनाएर काम गर्न थालेको प्रहरी उपरीक्षक महतोले बताउनुभयो।

‘उहाँले चीनबाट डाक्टरी पास गरेको देखिएको छ। नेपालमा काम गर्न एनएमसीको परीक्षा दिनपर्छ। त्यो परीक्षा पास गरेर सर्टिफिकेट वा नम्बर पाएपछि मात्रै काम गर्न पाइन्छ,’ उहाँले भन्नुभयो,’ त्यसपछि मात्रै आधिकारिक रूपमा क्लिनिक राखेर वा कही काम गर्न पाउँछ। तर उहाँले चीनबाट एमबिबिएस पास गरे पनि एनएमसीको परीक्षा पास नगरेको देखियो।’

डाक्टर हुँ भन्ने बुझाएको नम्बर एनएमसीबाट भेरिफाइ नभएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनले एनएमसीको स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत किर्ते गरेको पाइएको प्रहरी उपरीक्षक महतोले बताउनुभयो।

उनले उक्त प्रमाणपत्रका आधारमा काठमाडौंको ग्राण्डी अस्पतालमा काम गरेका थिए। कागजात किर्ते भएको हल्ला चलेपछि रंजित फरार भएका थिए।उनीविरूद्ध प्रहरीले लिखतसम्बन्धी कसुरको आधारमा कारबाही गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार