
काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक १२ बजे सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठक संसद् बैठक भएकाले पुनः अपरान्ह ४ बजे बस्नेगरी बिना निष्कर्ष सकिएको कार्यदलका एक सदस्यले जानकारी दिनुभयो ।
सरकारले गर्ने न्यूनतम साझा कार्यक्रमलाई अपरान्ह बस्ने बैठकले अन्तिम रुप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने उहाँको भनाइ छ । सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन तीन दलका नेता सम्मिलित कार्यदल बनाइएको छ ।
कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वको कार्यदलमा कांग्रेसबाट डा.मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समानवादी पार्टीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ छन् । सरकारले अंगाल्ने न्यूनतम साझा कार्यक्रम तय भइसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ । नागरिक खबरबाट