बागलुङ । बागलुङमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ः३५ बजेको समयमा जिल्लाको काठेखोला गाउँपालिका—७ रेश बस्ने देवराज कार्कीको छोरी २० वर्षीया मनकुमारी कार्की घाँस काटेर फर्किने क्रममा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले बताउनुभयो ।
घरदेखि तल घाँस काट्न गएकी उनी घाँस काटेर फर्किदा बहिनीसंगै ढाँवाखोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ । उक्त घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५ जनाको टोली घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।
उनीसँगै पौडी खेल्न गएकी बहिनी १४ वर्षीया सिवानी कार्की भने सकुशल छिन् । खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको सूचना पछि स्थानीय युवाहरुले पौडिएर खोज्ने क्रममा दहकोबीच भागमा डुबेको अवस्थामा फेला परेको बताईएको छ । मृतक कार्की काठेखोलाकै भिमसेन माविमा कक्षा १२ मा अध्ययनरत थिइन् । baglungpostबाट