
रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई मुख्यमन्त्री निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गर्नुभएको छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफू माओवादी केन्द्रमै रहेको जिकिरसमेत गर्नुभयो ।
आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको उहाँले बताउनुभयो । ‘मैले इन्कारी जारी राखेँ, साउन १८ गते विज्ञप्ति लेखेर मलाई पढ्नै नदिइ जबरजस्ती हस्ताक्षर गराइयो,’ विज्ञप्तिमा उहाँले भन्नुभएको छ , ‘यतिमात्र नभई अर्को दुई तीनवटा माइन्युट जस्ता रजिस्टरमा पनि जबर्जस्ती हस्ताक्षर गराइयो ।’
त्यसपछि आफूले मुख्यमन्त्री निवासबाट उन्मुक्ति पाउने र बाहिर गएपछि सबै घटना सार्वजनिक गर्ने योजना बनाए पनि आफूलाई अझ कडाईका साथ मुख्यमन्त्री निवासमै राखिएको उहाँले बताउनुभयो ।
२० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उहाँले बताउनुभयो। रातोपाटीबाट