म्याग्दीमा धान रोपाइँ अन्तिम चरणमा

म्याग्दी । म्याग्दीमा यस वर्ष वर्षायामको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ । समयमै पानी पर्नु, खेत रोपाइँ चाँडै हुनु र कृषिसम्बन्धी औजारको सहयोग जस्ता कारणले जिल्लाभर ९० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोबिन्दराज कोइरालाले बताउनुभयो । ‘म्याग्दीको अधिकांश ठाउँमा रोपाईं सम्पन्न भएको छ,छिटफुट मात्रामा रोपाई बाँकी छ, समग्रमा जिल्लाभर ९० प्रतिशत बढी रोपाइँ सकिएको छ,’ कोइरालाले भन्नुभयो ।

यसवर्ष जेठको अन्तिम साता र असारको सुरुवातमै परेको मनसुनी वर्षाका कारण समयमै खेत रोपाइँ गर्न पाउँदा धान उत्पादन बढ्ने भएकाले किसानहरु खुसी देखिएका छन् । विगतका वर्षको तुलनामा यसवर्ष समयमै पानी परेकाले रोपाइँ गर्न किसानलाई सहज भएपछि धान उत्पादन समेत बढ्ने प्रमुख कोइरालाले बताउनुभयो । गतवर्ष वर्षाका कारण बाढीपहिरो र भू–क्षयले खेतीयोग्य जमिन नष्ट गरेपनि २ प्रतिशतले धान उत्पादन वृद्धि भएको थियो ।

पछिल्लो समय म्याग्दीका गाउँघरमा परम्परागत गोरुको सट्टा मिनी टेलर हलो अर्थात् खेत जोत्नका लागि ट्याक्टरको प्रयोगतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । कुल २ हजार २ सय ९७ वर्ग किलोमिटर क्षेत्रफल रहेको म्याग्दीमा ३० हजार ८ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेको छ । त्यसमध्ये हाल १९ हजार ४ सय ९८ हेक्टरको जमिनमा मात्रै खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख गरिएको छ भने बाँकी ११ हजार ३ सय ९८ हेक्टर जमिन बाँझो रहनुका साथै प्लटिङ गरिएको छ । जिल्लामा ३ हजार ८ सय ९५ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

म्याग्दीमा गौरिया, जेठोबुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ«्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २, गुडुरा, दर्माली, आङा (कालो धान), झिनुवा जस्ता स्थानीय (लोकल) जातका धानहरु रोप्ने गरिएको छ । पछिल्लो समय जिल्लाको केही ठाउँमा किसानहरुले सुख्खा धान १, २, ३ नामको जात समेत रोप्न थालेका छन् । किसानहरुले भने भात खानकै लागि भनेर बारीलाई खेत बनाएर धान रोप्दै आएका छन् । पाखो बारीमा घैया धान रोप्ने चलन पनि रहेको छ ।

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको २० वटा भन्दाबढी वडामा धानखेती हुँदै आएको छ । तीमध्ये रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, बिम ,च्युरिबोट ,अर्मन, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रहरुमा धानखेती हुने गरेको छ । यी वडाहरु धान उत्पादनका हिसाबले पकेट क्षेत्र मानिन्छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार