
काठमाडौं । कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघिकोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । संक्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन ।
सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो । सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारमात्रै उक्त अभियान घोषणा गरेको थियो ।
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ रु’ कार्यक्रमअन्तर्गत आइतबारमात्रै १० हजार ७६ लाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म पाँच लाख ३७ हजार ७ सय ४९ लाई मास्क वितरण गरिसकेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित उक्त अभियान थालेको थियो ।
यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १ सय ६१ लाई कारवाही गरी १६ हजार जरिवानासमेत गरिएको जनाइएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने तीन हजार ७ सय १७ लाई रोकी सम्झाइबुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहितको १ सय ४६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत १४ हजारभन्दा बढीलाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
आइतबार काठमाडौँ उपत्यकामा ९ सय ५१ जनामा कोभिड–१९ संक्रमण भएको छ । मुलुकभर गरेर दुई हजार ५ सय ४५ मा संक्रमण भएको छ । आइतबारको २४ घण्टामा केही साताकै उच्च ५५ जना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमित भई निको हुने दर ९३ दशमलव छ प्रतिशत छ । हालसम्म छ लाख ६९ हजार २ सय ९९ जनाले कोरोना जितेका छन् । रासस