एमालेमा विधान संशोधन प्रस्ताव : अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा पेश गरिने प्रस्ताव पारित गरेको हो, जसमा अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी मनोनित गर्ने उल्लेख छ ।

‘अध्यक्ष र महासचिव बाहेक अरु पद हलबाट निर्वाचित नगर्ने प्रस्ताव ल्याइएको छ । यो प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेमा छलफल खुला हुन्छ,’ एक नेताले भने ।

एमालेले आठौं महाधिवेशनबाट हलबाटै निर्वाचित बहुपदीय संरचना अभ्यास गर्दै आएको छ । आठौं र नवौं महाधिवेशनमा सबै पदाधिकारी हलबाटै निर्वाचित भएका थिए ।

तर पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँग एकताको प्रयास चलिरहेका बेला एकलौटी रुपमा विधान अधिवेशन गर्ने तयारीमा जुटेको ओली पक्षले अध्यक्ष र महासचिव बाहेक अन्य पद पछि मनोनित गर्ने प्रस्ताव अघि सारेको छ । विधान संशोधन गरेर पार्टीबाट वरिष्ठ नेता नराख्ने प्रस्ताव पनि अगाडि बढाइएको छ । बहुकेन्द्र निर्माण भएकाले वरिष्ठ नेताको पद नै नराख्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखिने भएको छ ।

निवर्तमान अध्यक्ष पार्टीको वरिष्ठ नेता रहने प्रचलन एमालेमा छ । तर आठौं महाधिवशेनपछि माधवकुमार नेपाल र नवौं महाधिवेशनपछि झलनाथ खनाल वरिष्ठ नेता रहे । तर आठौंबाट अध्यक्षमा पराजित ओली र नवौंमा पराजित माधव नेपाललाई पनि वरिष्ठ नेता मनोनित गरिएको छ ।

यस्तै पदाधिकारी संख्या घटाउने प्रस्ताव पनि ल्याइएको छ । एमालेमा एक अध्यक्ष, एक वरिष्ठ नेता, पाँच उपाध्यक्ष, एक महासचिव र पाँच सचिव रहने व्यवस्था छ । नवौं महाधिवेशन पछि मुलुक संघीयता संरचनामा गएकाले अञ्चल समन्वय कमिटीको ठाउँमा प्रदेश संगठन कमिटी प्रस्ताव गरिएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार