अफगानिस्तानबाट १६.९ करोड डलर लिएर भागेका पूर्व राष्ट्रपति अशरफ गनीलाई यूएईले दियो शरण

काठमाडौं । काबुलमाथि तालिबानको नियन्त्रण पछि अफगानिस्तानबाट भागेका पूर्व राष्ट्रपति अशरफ गनी संयुक्त अरब इमिरेट्स पुगेका छन् ।संयुक्त अरब इमिरेट्सको विदेश मन्त्रालयले एक बयान जारी गर्दै आफूहरुले मानवीय आधारमा राष्ट्रपति गनी र उनको परिवारलाई आफ्नो देशमा स्वागत गरेको बताएको छ ।

अशरफ गनी आइतबार काबुलमाथि तालिबान लडाकूको नियन्त्रणका बेला अफगानिस्तानबाट भागेका थिए । अमेरिकाले यो कदमका लागि उनको कडा आलोचना गरेको थियो र अफगान सरकारले सही कदम उठाएको भए काबुलमा तालिबानले यसरी कब्जा गर्न नसक्ने बताएको थियो ।

कति रकम लिएर गए अशरफ गनी ?

ताजिकिस्तानमा अफगानिस्तानका राजदूत मोहम्मद जहिर अगबरले आइतबार काबुल छोड्दा अशरफ गनीले लगभग १६.९ करोड डलर लिएर गएको दाबी गरेका थिए । उनले राष्ट्रपतिको रुपमा अशरफ गनीको लडाईंलाई आफ्नो जमिन र आफ्ना जनतासँग विश्वासघात बताएका छन् ।

ताजिकिस्तानको राजधानी दुशांबेमा अफगान दूतावासमा पत्रकार सम्मेलनमा उनले भने, ‘दूतावासले गनीका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहलाई अफगानिस्तानको कार्यवाहक राष्ट्रपतिको रुपमा मान्यता दिनेबारे विचार गरिरहेको छ ।’

आइतबार काबुलबाट जाँदाजाँदै अशरफ गनीले लेखेका थिए, ‘धेरै मानिसहरु अनिश्चित भविष्यबारे डराएका छन् र चिन्तित पनि । तालिबानले सबै जनता, पूरा राष्ट्र, समाज र सबै वर्ग र अफगानिस्तानका महिलालाई विश्वास दिलाओस् र उनीहरुको मन जितोस् ।’

सुरुवाती रिपोर्टमा अशरफ गनी ताजिकिस्तान भागेको बताइएको थियो । त्यतिबेला अल जजिराले गनी, उनकी श्रीमती, सेना प्रमुख र राष्ट्रिय सुरक्षा सल्लाहकार उज्बेकिस्तानको राजधानी ताशकंद गएको बताएको थियो ।

देशबाट भागेकोमा दिए स्पष्टिकरणः

एक फेसबुक पोस्टमा अफगान नागरिकलाई सम्बोधन गर्दै गनीले राजधानी छोड्नु एक कठिन निर्णय भएको बताउँदै आफूले रक्तपात हुनबाट रोक्नका लागि यस्तो गरेको बताएका थिए । उनले लेख्छन्, ‘म भएको भए तालिबान काबुलमा आएपछि झडप हुन्थ्यो जसका कारण लाखौं मानिसहरुको जीवन खतरामा पर्दथ्यो ।’

उनले आफ्नो पोस्टमा लेखे, ‘आज मैले एउटा मुश्किल निर्णय गर्नुपर्ने थियो । कि त मैले जो महल ९राष्ट्रपति भवन० मा प्रवेश गर्न चाहने सशस्त्र तालिबानको सामना गरुँ वा आफ्नो प्यारो मुलुक जसको पछिल्लो २० वर्षमा सुरक्षाका लागि मैले आफ्नो जीवन सम्पिएँ, त्यसलाई छोडिदिउँ ।’

‘यदि यतिबेला अनगिन्ती मानिसहरु मारिन्थे र हामीले काबुल शहर ध्वस्त भएको हेर्नुपरेको भए त्यो ६० लाख जनसंख्याको शहरमा ठूलो मानवीय त्रासदी हुनेथियो ।’उनले थपे, ‘तालिबानले तरबार र बन्दुकको बलमा जीत हासिल गरेका हुन् र अब मुलुकको इज्जतको सुरक्षाको जिम्मेवारी तालिबानमाथि छ ।’

उनले भने, ‘यदि उनीहरुले मन जित्न सक्दैनन् भने इतिहासमा कहिल्यै पनि कसैले शक्तिको आडमा यो अधिकार पाएका छैनन् र पाउने पनि छैनन् । अब उनीहरुले एक ऐतिहासिक परीक्षाको सामना गर्नुपर्ने छ या त उनीहरुले अफगानिस्तानको नाम र इज्जत बचाउनेछन् वा अन्य इलाका र नेटवर्क्स ।’

को हुन् अशरफ गनीः

गनी दुईपटक अफगानिस्तानको राष्ट्रपतिमा छानिएका थिए । पहिलो पटक सन् २०१४ मा र दोस्रोपटक २०१९ मा । उनी एक पूर्व प्राविधिक शास्त्री हुन् जो देशका चर्चित शिक्षाविद पनि हुन् । उनले आफ्नो धेरैजसो करियर अफगानिस्तान बाहिर नै पूरा गरे तर उनी थुप्र्र वर्षको युद्धपछि देशको पुनर्निर्माणका लागि फिर्ता आए । जब उनले राष्ट्रपति कार्यालय सम्हाले तब उनलाई एक निकै इमान्दार व्यक्तिको रुपमा हेरियो । यद्यपि, उनी छिट्टै रिसाउने व्यक्तिको रुपमा पनि परिचित भए ।

देशको बहुसंख्यक पश्तून समुदायबाट आएका गनीले त्यतिबेला कार्यालय सम्हालेका थिए जब सन् २०१४ मा धेरैजसो विदेशी सैनिक देश छोडिरहेका थिए । उनले देशबाट विदेशी सेना फिर्ता हुनु र तालिबानसँग लगातार झगडालू शान्ति वार्तामाथि निगरानी राखे । तर तालिबानले उनको सरकारलाई सधैं अमेरिकाको कठपुतली भनिरह्यो । एजेन्सी/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार