पार्टी एकताको सन्देश दिन सबैको समर्थनमा मुख्यमन्त्री बनेको हुँ : मुख्यमन्त्री शाक्य

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टी एकतालाई कायम राख्न सबैको समर्थनमा आफू मुख्यमन्त्री बनेको बताउनुभएको छ ।बुधबार राति बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंको कार्यालयमा मुख्यमन्त्री नियुक्त भई सपथ ग्रहणपछि पत्रकारसंगको कुराकानीमा उहाँले केन्द्रीय नेतृत्वलाई एकताको सन्देश दिने उद्देश्यका साथ प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्ताव र एमालेका सबै सांसदहरुको समर्थनमा आफू मुख्यमन्त्री भएको बताउनुभएको हो ।

नेकपा एमाले उपाध्यक्षसमेत रहनुभएको मुख्यमन्त्री शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुनुहुन्छ । ‘पार्टी एकतालाई जोगाउनका लागि विगतदेखि नै बागमती प्रदेशबाट सन्देश दिने पहल भएको तर केन्द्रीय समीकरण बदलिएका कारण सम्भव हुन सकेको थिएन’, उहाँले भन्नुभयो । अहिले धरै कुराहरु परिवर्तन भएको छ तर पनि हामी सबैले पार्टी जोगाउनका लागि यो कदम अगाडी सारेका हौं । केन्द्रीय नेतृत्वको सल्लाहअनुसार नै यी सबै कामहरु भएका हुन् । सबैको साथ छ । मलाई कसैबाट पनि असहयोग हुँदैन’, उहाँले थप्नुभयो ।

बागमती प्रदेशमा एमालेको एकल बहुमतको सरकार कायम रहन पर्ने भन्दै सबै सदस्यहरु एकताको पक्षमा उभिएकाले सबैको समर्थन प्राप्त भएको उहाँको भनाई छ ।उहाँले मुख्यमन्त्रीको शपथ लिए लगत्तै २ जना मन्त्रीहरु पनि नियुक्त गर्नुभएको छ भने आगामी एक महिना भित्रमा मन्त्रिपरिषद्ले पूर्णता दिने बताउनुभएको छ । उहाँले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार मन्त्रीमा केशवराज पाण्डे र सामाजिक विकास मन्त्रीमा कृष्णप्रसाद खनाललाई नियुक्त गर्नुभएको हो ।

दुवै मन्त्रीहरुले हिजो नै प्रदेश प्रमुख प्रसाईबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् । निवर्तमान मुख्यमन्त्री तथा मन्त्री, पूर्व मन्त्रीहरु र सबै सांसदहरुको सहयोग र समन्वयका आधारमा बागमती प्रदेश संचालन हुने उहाँले बताउनुभयो । सरकार संचालनमा आफूलाई विपक्षी दलहरुले पनि पूर्ण रुपमा साथ दिने भन्दै सरकार संचालनमा कुनै बाधा व्यवधानहरू नआउने र बागमती प्रदेशमा नेकपा एमालेको एकल बहुमतको सरकारले ५ वर्षे कार्यकाल पूरा गर्नेमा आपूm विश्वस्त रहेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार