माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ पद खाली

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा २२ सदस्यको पद खाली छ । मृत्यु भएका र पार्टी छाडेर हिडेकाहरुको संख्या २२ हो । यो पदपूर्ति गर्ने विषयमा अहिले पार्टीभित्र व्यापक दवाव सिर्जना भएको छ ।

केन्द्रीय सदस्य बन्न चाहनेको संख्या धेरै हुँदा शीर्ष नेताहरु दवावमा छन् । हाल कायम रहेको २ सय केन्द्रीय समितिमा रिक्त पदपूर्ति गर्ने जिम्मेजारी गत साउन ३१ गते सम्पन्न केन्द्रीय समितिले स्थायी समितिलाई दिएको छ ।

एक साताभित्र पदपूर्ति गरिसक्ने भनिएपनि अहिलेसम्म टुंगो लाग्न सकेको छैन । विशेष गरी सदूरपश्चिम प्रदेश र प्रदेश नं. २ बाट केन्द्रीय समिति सदस्य बनाउने विषयमा विवाद छ ।

सुदूरपश्चिम प्रदेशका लेखराज भट्ट माओवादी केन्द्र छाडेर एमालेतिर लागेपछि उनको ठाउँमा कसलाई अघि बढाउने भन्ने विषयमा विवाद छ । त्यस्तै, प्रदेश नं. २ मा प्रभु शाहको ठाउँमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा विवाद रहेको स्रोतको भनाइ छ ।

अन्य ठाउँबाट पनि प्रतिनिधित्व गराउने विषयमा इच्छुकहरुको चर्को दवाव छ । ३१ साउनमा सकिएको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति लगायत सबै रिक्त समितिमा पदपूर्ति गर्ने र त्यसका लागि ७ दिनको समयसीमा दिएर स्थायी समितिलाई जिम्मा दिएको थियो । तर, अहिलेसम्म पनि टुंगो लगाउन सकेको छैन ।

२०७५ जेठ ३ मा नेकपा एमालेसँग एकता गर्दा ४ सय ४५ सदस्यीय केन्द्रीय समितिमा माओवादीको भागमा २ सय केन्द्रीय सदस्य थिए । पार्टी एकताअघि माओवादी केन्द्रमा झन्डै ४ हजार सदस्यीय केन्द्रीय समिति थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार