महोत्तरी । लगातारको वर्षातपछि महोत्तरीको रातु नदीमा आएको बाढी बस्तीमा पस्दा ९ सय घर डुबानमा परेका छन् । जिल्लाको बलवा नगरपालिका– ४ स्थित तीलगढ बस्तीनै डुबानमा परेको स्थानीयले बताएका छन् ।
पहिल्यैदेखि जिर्ण अबस्थामा रहेको बाँध भत्काएर बाढी बस्तीमा पसेको तीलगढका स्थानीय लक्ष्मण मण्डलले जानकारी दिनुभयो । रातुमा आएको बाढीले प्रत्यक वर्ष सो बस्ती प्रभावित हुने गरेको मण्डलले बताउनुभयो ।
बस्तीका ९ सय घर डुबानमा परेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । डुबानमा परेको बस्तीमा जोखिममा रहेकाहरूलाई उद्धार गरी अन्यत्र सार्न सुरक्षा निकायलाई परिचालन गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रमुख तथा महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई समेत डुबान क्षेत्रमा सुरक्षा सामाग्रीका साथमा परिचालन गरिएको भट्टराईले बताउनुभयो । डुबेको बस्तीबाट पानी पठाउन ठाउँ–ठाउँबाट पानी काट्ने काम भइरहेकाले जोखिम बिस्तारै कम हुने भट्टराईले बताउनुभयो ।
रातुको बाढीले बर्दिवास–३ स्थित खोलाछेउको धान खेत पनि कटान शुरु गरेको छ । झण्डै १० कठ्ठा धान खेत खोलाले बगाइसकेको स्थानीय डोरमणि पौडेलले जानकारी दिनुभयो ।अझै वर्षा नरोकिए रातु नदीको बाढीले अन्य पालिका हुँदै जलेश्वर समेत डुबानमा पर्ने हुँदा सुरक्षित भएर बस्न पनि प्रजिअ भट्टराईले आग्रह गरेका छन् । वर्षामा बाढि आएसँगै जिल्लाका बलवा, बर्दिवास, औरही,महोत्तरी र जलेश्वर लगायतका पालिकामा धेरै बस्तीमा वर्षेनी रातुखोलाले क्षति पुर्याउदै आएको छ । ekantipurबाट