म्याग्दी,असोज ०७ गते । म्याग्दीको रघुगंगा गाउँपालिका–३,दशमुरेस्थित भीरमा अरिङ्गालको गोला हेर्न जानुभएका एक युवकको भीरबाट लडी उपचारको क्रममा मृत्यु भएको छ । मंगलबार साँझ करिब साढे ६ बजेको समयमा अरिङ्गालको गोला हेर्न जानुभएका रघुगंगा गाउँपालिका–७,चिमखोलाका २३ वर्षीय लबकुस पाइजाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
भीरमा अरिङ्गालको गोला हेर्न गएको क्रममा पाइजा एक्कासी करिब ३०० मिटर तल खसी गम्भीर घाइते हुनुभएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो । घटनालगत्तै घाइते पाइजालाई उपचारका लागि तत्काल प्रदेश अस्पताल बेनी ल्याइएको थियो । उपचारका क्रममा राति ७:४० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।
मृतकलाई अस्पतालको शव गृहमा राखेर परिक्षणको तयारी भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।















