पोखरा । पोखराको फिर्के खोलमा स्कार्पियो जिप खसेको छ । पोखराको बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०–०–४६७ नं को गाडी आज राति २ बजे अनियन्त्रित भइ फिर्के पुलबाट खसेको हो ।
बागलुङ बसपार्कबाट पर्स्याङ जिरो किलोमिटरतर्फ जाँदै गरेको जीप मध्यरातमा पुलको मुखमा रहेको स्ट्याण्ड बोर्डलाई ढालेर खोलामा खसेको स्थानीयले बताएका छन् ।
गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खस्दा जिपमा रहेका चालक पोखरा –१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङलाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सुवास हमालले जानकारी दिनुभएको छ ।
घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले गाडी चालक र महिलालाई उद्धार गरेर आफन्तको जिम्मा लगाएको थियो ।
पोखरा महानगरपालिका वडा नं ४ र ५ को सिमानामा पर्ने फिर्के पुल साँघुरो भएका कारण दुर्घटना हुने गरेको छ । फराकिलो हाइवेको बीचमा साँघुरो पुल भएकाले बारम्बार दुर्घटना हुने गरेको स्थानीयहरु बताउँछन् । त्यस स्थानमा दुर्घटना रोकथामका लागि पुल वरपर इन्डिकेटरका ट्राफिक डिभाइसहरु राख्न स्थानीयले माग गर्दैआएका छन् । रासस