बागमती प्रदेशका ११ सांसद्‌ले रोजे नेकपा (एकीकृत समाजवादी)

मकवानपुर । बागमती प्रदेशका ११ सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्दै सनाखत गरेका हुन् ।

सांसदहरु राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की,छन् । सांसद बसुन्धरा हुमागाईंका अनुसार अझै केही सांसदहरु थपिने छन् । ‘हामी पहिलो चरणमा जम्मा भएका साथीहरुले सनाखत गरेका हौं । अझै साथीहरु थपिनुहुनेछ,’ हुमागाईंले भनिन् । उहाँले नवगठित पार्टीमा वाग्मती प्रदेशका २१ जना सांसदहरु रहेको दाबी गर्नुभयो।

प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका कृष्ण शर्मा खनालले पनि सनाखत गर्ने सांसद हुमागाईंले बताइन् । खनाल अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन मन्त्री बनेका थिए । उनी कार्यालय पुगेका छैनन् । ‘म नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यकर्ता हुँ । मन्त्रालयको काम भएर केही समय अड्किएको हुँ । निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गर्छु । आजै गर्छु,’ मन्त्री खनालले भन्नुभयो ।

१२ जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार