नागरिकता लिन आधा महिना पालो कुर्नुपर्ने बाध्यता

कपिलवस्तु । दरबन्दी अनुसारको कर्मचारी नहुँदा कपिलवस्तुमा नागरिकता बनाउन आधा महिना पालो कुर्नुपर्ने बाध्यता रहेको छ । गृहमन्त्री बालकृष्ण खाँडको छिमेकी जिल्ला कपिलवस्तुमा कर्मचारी नहुँदा जनताले सास्ती खेप्नु परिरहेको हो ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा छोरी इसा रानाको नागरिकता बनाउन आएका बुद्धभूमि–२ का टङ्क राना लामो पालो कुर्नु परेपछि दिक्क मान्दै भन्दै थिए, “छोरीका लागि भदौ २८ गते कार्यालय पुगेको थिए । भिडभाड धेरै भएकाले कर्मचारीले टोकन दिएर गेटबाट फिर्ता गरे । असोज १५ गते कागजात लिएर आउने गरी टोकन पाएको छु । छोरीलाई कम्प्युटर हार्डवेयरको निःशुल्क तालिमका लागि नागरिकता अनिवार्य चाहिने भएकोले कार्यालय पुगेको थिए । नागरिकता बनाउनकै लागि आधा महिना समय कुर्नु पर्ने रहेछ ।”

कार्यालयमा कर्मचारी अभावले नागरिकता बनाउनदेखि, राहदानी बनाउन, संस्था दर्ता, बजार अनुगमन गर्नसमेत असहज भएको छ । गएको ४ महिना यता अधिकृतदेखि नासुसम्मका कर्मचारी छैनन् । दरबन्दी अपुग भएका कर्मचारी माग गरिएको भए पनि मन्त्रालयबाट व्यवस्थापन हुन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।कार्यालयमा ३३ जना कर्मचारीको दरबन्दी भए पनि ११ जना कर्मचारी रिक्त रहेका छन् । दरबन्दीअनुसार तीन जना प्रशासकीय अधिकृत हुनुपर्ने भए पनि कार्यालयमा प्रशासकीय अधिकृत नै छैनन् ।

कागजातमा हस्ताक्षर गर्नका लागि प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेय र सहायक प्रजिअ नेपाली शाखामा आलोपालो छिर्ने गरेका छन् । यता कार्यालयमा दुई अधिकृतको सरुवा भए पनि हाजिर भएका छैनन् । प्रशासकीय अधिकृत शङ्कर भुसालको तीन महिना अगाडी र चिरञ्जीवी जिएमको दुई साता अगाडी सरुवा भएको थियो ।यसैगरी कार्यालयमा १० जना नासुको दरबन्दीमा चार जना रिक्त रहेका छ । एक जना नासुको सरुवा गर्ने भने पनि कार्यालय सञ्चालन गर्न असहज भएको कारणले सरुवा रोकिएको नेपालीले बताए ।

पाँच जना खरदार हुनुपर्ने भए पनि एकजना मात्र कार्यरत रहेका छन् । कार्यालयमा नागरिकता बनाउनको लागि दैनिक ३०० जना आउने गरेका छन् । हालको क्षमताअनुसार दैनिक १ सय जनालाई मात्र नागरिकता बाँड्न सकिएको छ ।कर्मचारी नहुँदा कार्यालय सहयोगीसमेत काममा खटिएका छन् । सम्बन्धित कर्मचारी नहुँदा कार्यालय सहयोगी खटिँदा नागरिकता वितरण जस्तो संवेदनशील कार्यमा कमजोरी हुनसक्ने देखिएको अधिकारकर्मी शिवलाल यादवले बताए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार