कांग्रेस सभापति पदमा लड्ने श्रेष्ठको घोषणा

काठाडौँ । नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पार्टी सभापति पदमा लड्ने घोषणा गर्नुभएको छ । गृहजिल्ला स्याङ्जाका अगुवा नेतारकार्यकर्ता उपस्थित भेलाबाट श्रेष्ठले औपचारिक रूपमा १४ औं महाधिवेशनमा सभापति लड्ने घोषणा गर्नुभयो ।

पार्टी कार्यालयमा बुधबार भएको कार्यक्रमबाट सभापतिमा उठ्ने आफूले औपचारिक घोषणा गरेको श्रेष्ठले बताउनुभयो। ‘सभापति उठ्ने तयारी पहिलेदेखि नै गरेको थिएँ, स्याङ्जा आएर घोषणा नै गरेँ,’ उहाँले भन्नुभयो, ‘मलाई देशभरका साथीहरूको सहयोग छ।’ श्रेष्ठ लामो समयदेखि सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । देउवा कांग्रेस प्रजातान्त्रिक सभापति हुँदा श्रेष्ठले कार्यबहाक सभापति भएर पनि काम गर्नुभएको थिायो।

लामो समयदेखि सहयोग गरिरहेका श्रेष्ठलाई नै सभापति देउवाले संगठन विभाग प्रमुख मनोनित गरेका थिए। देउवाका निकट रहेका श्रेष्ठ र उपसभापति विमलेन्द्र निधि सभापति लड्ने बताइसकेका छन्। यसले देउवालाई फेरि सभापति जित्नका लागि अप्ठेरो पर्ने देखिँदै गएको छ। २०७२ सालमा भएको १३ औं महाधिवेशनमा श्रेष्ठ र निधि दुबैले देउवा नै सभापतिको उम्मेदवारका रूपमा समर्थन गरेका थिए। तर यसपटक श्रेष्ठ र निधिले सभापतिमा देउवालाई साथ नदिने अवस्था देखिएको छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आफू नै एक कार्यकाल सभापति उठ्ने पक्षमा हुनुहुन्छ। देउवाले आफूनिकटलाई फेरि सभापतिमा उठ्ने बताए पछि उहाँलाई लामो समयदेखि साथ दिँदै आएकाहरूले धमाधम सभापति उठ्ने घोषणा गरिरहनुभएको छ। गोपालमान देउवाकै सहयोगमा आफू सभापति उम्मेदवार उठ्न लागेको दाबी गर्छन्। ‘उहाँ (देउवा) ले मलाई सभापति लड्न सघाउनुहुन्छ,’ उहाँले भन्नुभयो। श्रेष्ठका अनुसार अब देउवा फेरि सभापति उम्मेदवार बन्नतिर लाग्न हुन्न । बरू प्रधानमन्त्री भइरहेर जनहितअनुसारका काम गर्ने हो।

‘उहाँ (देउवा) संकटमा पर्दा मैले सहयोग गरेको हुँ, अहिले उहाँले मलाई सहयोग गर्ने हो,’ श्रेष्ठले भने, ‘म सभापति र उहाँ (प्रधानमन्त्री) हुने हो।’
गठबन्धनका दलहरूको सहयोगमा देउवा अहिले पनि प्रधानमन्त्री छन्। अब चुनावपछि पनि देउवालाई बरू प्रधानमन्त्री पद छाड्न सकिने श्रेष्ठले बताउनुभयो।
‘११ औं अधिवेशनमा मैले देउवालाई सर्वसम्मत सभापति बनाएको थिएँ, त्यहीबेला मलाई सभापति बन भनेका थिए,’ उहाँले भन्नुभयो, ‘ज्ञानेन्द्र शाहले त्यसबेला देउवालाई थुनेका थिए। ज्ञानेन्द्रलाई इँटाको जवाफ पथ्थरले दिनुपर्छ भनेर पनि देउवालाई सर्वसम्मत सभापति बनाएको हो। त्यसपछि १२ र १३ औं महाधिवेशनमा मैले देउवालाई सघाएको हो।’

आफू र सभापति देउवाबीच फेरि पनि संवाद हुने र देउवाले आफूलाई नै सभापतिको उम्मेदवारमा सहयोग गर्ने श्रेष्ठले दाबी गर्नुभयो । ‘हामीले केही कुरा छिमेकीको पनि सिको गर्नुपर्छ। भारतमा नरेन्द्र मोदी प्रधानमन्त्रीमा मात्रै अर्जुनदृष्टि छ, उहाँले पार्टी नेतृत्वमा इच्छा गर्नुभएन,’ श्रेष्ठले भन्नुभयो, ‘उहाँ (देउवा) प्रधानमन्त्रीमै काम गर्ने हो। म सभापति भएँ भने पनि उहाँलाई असहयोग गर्ने भन्ने हुन्न।’ उहाँले मुलुकभरका साथीहरूले आफूलाई सभापतिमा उठ्न सहयोग गर्ने बताएको पनि उहाँले बताउनुभयो।

‘कांग्रेस प्रजातान्त्रिकले कदमजम (कर्णाली, दलित, महिला, जनजाति, मधेशी) समावेशी प्रणाली लागू गरेको र पछि नेपाली कांग्रेससँग एकतापछि पनि यो अभियान सञ्चालन गरेको थियो,’ उहाँले भन्नुभयो, ‘१२ बुँदे सहमति गराई माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र जनआन्दोलनमा नेतृत्व गर्ने काममा पनि मैले काम गरेको हुँ। त्यसैले पनि देशैभरका साथीहरूको साथ छ, म सबैलाई कांग्रेसमा मिलाएर लैजान सक्छु।’उपसभापति निधिले पनि सम्पर्क कार्यालय खोलेकोबारे श्रेष्ठले कार्यालय खोले पनि साथ आफूलाई दिने दाबी गर्नुभयो। ‘कार्यालय खोलेर केही बिग्रेको छैन, उहाँ (निधि) सँग पनि समझदारी हुन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘शेरबहादुरले नै मलाई सहयोग गरेपछि उहाँ (निधि) ले पनि मलाई नै सहयोग गर्नुहुन्छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार