
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेकै अवस्थामा अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) संसदबाट पारित हुन नसक्ने बताउनुभएको छ । वरिष्ठ नेता खनालले एमसिसीमा रहेका केही प्रावधानलाई परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।
‘एमसिसीबारे सरकारले के गरिरहेको छ भनेर मैले औपचारिक जानकारी पाएको छैन। तर यसलाई राष्ट्रको सर्वोपरी हितमा हुनेगरी मात्रै पारित गर्नुपर्छ। हामीले यसअघि दिएको रिपोर्टका आधारमा अमेरिकासँग औपचारिक तहमा छलफल गर्नुपर्छ,’उहाँले भन्नुभयो,’देशको सार्वभौम सत्तालाई असर पर्ने खालका प्रोजेक्ट ल्याउन जरूरी छैन। हामीले हाम्रै स्रोतबाट सडक र ट्रान्समिसन बनाउन सक्छौं।
अहिले भइरहेको भ्रष्टाचारमा १० प्रतिशतमात्रै कमी ल्याउन सकियो भने पनि हामीलाई स्रोतको अभाव हुदैन।’खनालको नेतृत्वमा २०७६ माघमा तत्कालीन नेकपाले एमसिसीबारे अध्ययन गर्न कार्यदल बनाएको थियो। कार्यदलमा भीम रावल र तत्कालीन परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली थिए।कार्यदलले एमसिसी परिमार्जन गरेर मात्रै पारित गर्नुपर्ने सुझाव दिएको थियो । सेतोपाटीबाट