देउवाको गृहजिल्लामा वडा अधिवेशन सुरु

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उहाँले भन्नुभयो, ‘बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौं । सोही समयमा अधिवेशन सुरु भइसकेको छ । अहिले मतदाता नामावली प्रकाशित गर्ने काम भइरहेको छ ।’

२७ वडामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिँदै छ । यद्यपि जिल्ला सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन बहिस्कार गरेको छ ।मल्ल पक्षको वहिस्कारका बीच अधिवेशन जारी छ । सभापति मल्ल, उपसभापति करुणकर भट्ट लगायत भने अधिवेशन प्रक्रियामा सामेल भएका छैनन् । मल्लसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । करिब ४५ वडाका सभापतिले विज्ञप्ति जारी गरेरै अधिवेशनमा सहभागी जनाइसकेको बुझिएको छ ।

जिल्ला सभापतिका दाबेदार भीम बहादुर साउदले सबै भ्रातृ तथा शुभेच्छुक संस्था र जनप्रतिनिधिको सहभागिता रहेको बताउनुभयो । जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राख्दा जिल्ला सभापतिले अस्वीकार गरेको साउनको भनाइ छ । उहाँले भन्नुभयो, ‘जिल्लाभर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव उहाँले स्वीकार गर्नुभएन । तर वडाको नेता कार्यकर्ता अधिवेशनको प्रक्रियामा आइसक्नुभएको छ । सबैले चुनाव चाहनु भएको छ ।’

जिल्ला सभापति बाहेक डडेल्धुराका नेता कार्यकर्ता विवाद गर्ने पक्षमा नरहेको साउनले बताउनुभयो । ‘सम्माननीय प्रधानमन्त्री तथा पार्टी सभापतिको जिल्लामा कसैले विवाद गर्ने चाहँदैन । तर जिल्ला सभापतिजीले किन गर्न चाहनुभयो थाहा छैन रु उहाँलाई नै थाहा होला,’ उहाँ भन्नुहुन्छ । क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन स्थगितको घोषणा गरेको थियो । तर जिल्ला सभापतिलाई काउन्टर दिएर निर्वाचन अधिकृतले अधिवेशन अगाडि पठाएको अवस्था छ ।

मल्ल पक्षले यथास्थितिमा निर्वाचन प्रक्रियामा माग लिने अडान दिएपछि विवादकै बीच अधिवेशन सुरु भएको देखिन्छ । मल्ल पक्षले निर्वाचन अधिकृत बममाथि हातपात समेत गरेको थियो ।उनले क्रियाशील सदस्यता विवाद टुंग्याउनु पर्ने र केन्द्रले खटाएको निर्वाचन अधिकृत स्वीकार्य नहुने बताएको छ । साउदले भने जिल्लामा पुगिसकेको क्रियाशीलका विषयमा अनावश्यक विवाद झिकेको बताउनुभयो।

‘क्रियाशील सदस्यताको सूची जिल्ला सभापतिले केन्द्रमा पठाउनु भएको हो । पाँच महिनासम्म केन्द्रमा छानविन भयो । छानविन समिति सबै अध्ययन गरी क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको होला । अब त्यसमा विवाद गर्न मिल्छ रु,’ साउदको प्रश्न छ, ‘यस्तो विवाद झिक्ने हो भने ७७ जिल्लामै अधिवेशन हुन सक्दैन ।’

जिल्ला सभापतिले अधिवेशन स्थगितको हल्ला चलाएपनि उल्लेख्य संख्यामा नेता कार्यकर्ता अधिवेशनमा सहभागी भएको उनको दाबी छ । ‘केही नेताहरु अधिवेशनभन्दा बाहिर हुनुहुन्छ । तर अधिकांश मान्छे अधिवेशनमा सहभागी हुने भएको छ । सय प्रतिशत सहमति कही हुँदैन । ५२ वडामै सम्माननीय सभापति (शेरबहादुर देउवा) मान्ने साथीहरु निर्वाचित हुने देखिएपछि उहाँहरुले आत्तिएर अधिवेशनमा भाग नलिनुभएको हो,’ उनी भन्छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार