मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएकामध्ये ३ वटा मुद्दा महत्त्वपूर्ण रहेका थिए । शुक्रबारका लागि नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धका मुद्दाको पेशी तोकिए पनि एउटा हेर्न नमिल्नेमा राखिएको छ भने एउटा स्थगित भएको छ ।

विस्फोटक पर्दाथ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसम्बन्धी मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिए पनि आज हेर्न नमिल्नेमा राखिएको छ । २०६४ साल चैत २७ गते रौतहटमा बम विस्फोट गराई व्यक्ति हत्यामा स‌ंलग्न भएको मुद्दामा रौतहत जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पनि पेशी सरेको सर्‍यै छ ।

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको निर्णय खारेजीको माग गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दाको सुनुवाइका लागि शुक्रबार प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा पेशी तोकिए पनि स्थगित भएको हो । कानुन व्यवसायीको अनुरोधमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जनाएको छ ।यसअघि उक्त मुद्दाको सुनुवाइका लागि भदौ २ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिए पनि बेन्च बस्न सकेको थिएन ।

त्यसपछि भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले भदौ ८ गते नियुक्तिसम्बन्धी मिसिल कागज झिकाउने आदेश गरेको थियो । त्यस्तै भदौ २० गते प्रधानन्यायाधीश जबराकै इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।त्यस्तै नेकपा एमालेका सांसद पाण्डेले ‘नेकपा एकीकृत समाजवादीमा जान पाउँ’ भन्दै निर्वाचन आयोगलाई विपक्षी बनाई दायर गरेको मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ । ekantipurबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार