रुपन्देही । रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।गैडहवा–६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
मल्लाह दम्पतीले यही भदौ २६ गते शिशुको हत्या गरेको स्वीकारेको र दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिनुभयो । हत्याको कारण एकिन नभए पनि जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको थापाले बताउनुभयो ।
२६ गते बिहानपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो ।घटनास्थलको सुक्ष्म अबलोकन गर्ने क्रममा घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेटिएको प्रहरीले जनाएको छ । बिस्तारामा, विद्युतको स्वीचमा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो रातो पदार्थ लागेको फेला परेको थियो ।
‘बरामद गरिएको प्राप्त प्रमाणको आधारमा सुक्ष्म रुपमा अनुसन्धान तथा सोधपुछ गर्दा मृतक आमा बुबाले हत्या घटना स्वीकार गरेको,’ प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।घटनामा संलग्न रहेका श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई घटनास्थलबाटै सोही दिन प्रहरीले पक्राउ गरेको थियो । अनलाइनखबरबाट