पर्यटकलाई सर्तसहित अनअराइभल भिसा खुला

काठमाडौँ । सरकारले नेपालमा घुम्न आउने विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गरेको छ। कोरोना संक्रमण तिब्र भएसँगै २०७६ फागुनदेखि सरकारले बन्द गरेको अनअराइभल भिसा खुला भएको हो। यो सँगै अब नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै भिसा पाउने भएका छन्।

सरकारले विश्वभरी कोरोना संक्रमण पनि कम हुँदै गएको र खोपको मात्र पूरा गर्नेको संख्या बढेको भन्दै प्रचलित कानून अनुसार अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका कोभिड–१९ विरूद्धको खोपको दुबै मात्रा पुरा गरेका विदेशी पर्यटकले क्वारेन्टिन पनि बस्न नपर्ने निर्णय गरेको हो। योसँगै कोभिड सुरू हुनुअघि जुन–जुन मुलुकका नागरिकाले अनअराइल भिसामा नेपाल आउँथे, ती मुलुकका नागरिक अब अनअराइभल भिसामा आउन पाउने भएका हुन्।

प्रचलित कानून बमोजिम नेपालमा अनअराइभल भिसा पाउन सक्ने कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको र दफा ३ को उपदफा (१) बमोजिमको कागजात पेश गर्ने विदेशी नागरिकलाई अध्यागमन विन्दूमा अनअराइभल भिसा दिइने र एण्टीजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिइनेछ ।

यस्तै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतबाहेक अन्य मुलुकका नागरिकको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको, नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड–१९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको, विदेशस्थित सम्बन्धित नियोगबाट नेपाल प्रवेशको लागि भिसा लिएको र दफा आवश्यक कागजात पेश गर्ने विदेशी नागरिकलाई अध्यागमन विन्दूमा एण्टीजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिने भएको छ।

अध्यागमन विन्दूमा परीक्षण हुन नसकेमा निज बस्ने होटेलमा त्यस्तो परीक्षण गर्नुपर्ने छ। कोभिडको पहिलो लहर मत्थर भएपछि बिचमा पर्यटकले नेपाली दूतावासबाट भिसा लिएर नेपाल आउन दिइएको थियो । तर, वैशाखदेखि दोस्रो लहर फैलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय उडानसँगै पर्यटक आवागमन पनि बन्द गरेको थियो । कोभिडको कहर कम हुँदै गएपछि सरकारले विदेशी पर्यटकको आवागमन सहज बनाउने निर्णय गरेको हो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार