विष खुवाई भिरबाट धकेलेर हत्या

ताप्लेजुङ । शुक्रबार बिहान मृत भेटिएकी १८ वर्षीया युवती पुष्पा तबेबुङको हत्या भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले हत्या आरोपमा एक जना पक्राउसमेत गरेको छ । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–१० फुरुम्बुका ट्याक्टर चालक राम कार्की छन् ।

प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाका अनुसार कार्कीले हत्या गरेको स्वीकार गरिसकेका छन् । ‘उनले आफूहरू नौ महिनादेखि प्रेममा रहेको र सँगै मर्ने भन्दै युवतीलाई फकाएर फुङलिङ नगरपालिका–५ को सेते चौतारा छेउमा पुर्‍याई विष सेवन गराएर पहाडबाट धकेलेको बयान दिएका छन्,’ राणाले भन्नुभयो । युवतीलाई धकेलेको भनिएको पहाडबाट झन्डै सय मिटर तल शव भेटिएको थियो । ‘मोटरसाइकलमा लगेर निकै नाटक गरेर धकेलेको देखिन्छ,’ राणाले थप्नुभयो, ‘यो प्रारम्भिक अनुसन्धान हो, विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेर ल्याएको राणाले बताउनुभयो । पुष्पाका परिवारले यसअघि नै कार्कीप्रति शंका गरेर किटानी जाहेरी दिएका थिए । तर प्रहरीले पक्राउ नगरेपछि आपत्ति जनाएका उनीहरुले आइतबार बिहान पत्रकार सम्मेलन गरी सोमबारदेखि हडताललगायत कार्यक्रम गर्ने चेतावनी दिएका थिए । उनीहरूले प्रहरीलाई शव पोस्टमार्टम नगर्न भन्दै आफूहरूले नबुझ्ने बताएका थिए ।

जिल्ला अस्पतालमा राखिएको शवको पोस्टमार्टम हुन सकेको छैन ।कार्की भने शनिबारसमेत ट्याक्टर लिएर सदरमुकाम फुङलिङबाट फक्ताङलुङ गाउँपालिका केन्द्र तापेथोक गएको स्थानीयले बताएका छन् । सदरमुकाम फुङलिङको बिहीबारेमा दिदी र आफन्तसँग बस्दै आएकी पुष्पाले बिहीबार बेलुका उनै कार्कीसँग कुराकानी गरेको र राति हराएको परिवारले बताउँदै आएका थिए । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार