पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनुभएको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाई बाहिर आएको हो ।

संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताउनुभयो । सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धता समेत दोहोर्याउनुभयो ।

उहाँले संसदको कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान गर्नुभयो । सभामुख सापकोटाले भन्नुभयो, ‘हामीले जुन प्रण गरेका छौं–संघीय संसदलाई जीवन्त र जनमुखी बनाउने । त्यो सूत्र वाक्यलाई मैले त सधैँभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । संघीय संसदको कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔं । हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ । संसद सचिवालयको तर्फबाट पनि पहल गरिएको छ ।’

सापकोटाले सभामुख पदका लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको बताउँदै भन्नुभयो, ‘अहिले मलाई इतिहासले संघीय संसदको नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ । म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको दावी गर्नुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार