बेनी अस्पतालमा एक्सरे सेवा अवरुद्ध हुँदा विरामीलाई सास्ती

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा दश दिन दिनदेखी एक्सरे सेवा अवरुद्ध हुँदा विरामीलाई समस्या भएको छ । करिब दश दिन अघि भोल्टेज अपडाउन हुँदा एक्सरे कक्षका प्रिन्टर र सिपियुमा क्षती पुगेको थियो । सिआर सिस्टममा खराबी आएपछि एक्सरे सेवा अवरुद्ध भएको हो । बिग्रिएको लामो समय सम्म मर्मत नहुँदा उपचार प्रभावित भएको छ ।

टाढाबाट अस्पतालमा एक्सरे गर्न आएका बिरामी झन् अप्ठेरोमा परेका छन् ।अस्पतालमा एक्सरे सेवा अवरुद्ध हुँदा विरामीहरुले सास्ती व्यहोर्नु परेको छ । उनिहरुले चर्को शुल्क तिरेर अस्पताल बाहिरी क्लिनिकबाट एक्सरे गराउँदै आएका छन् । क्लिनिकबाट सेवा लिँदा चर्को शुल्क तिनुपर्ने र धेरै समय लाग्ने गरेको विरामीको दुखेसो छ ।

साधारण एक्सरे जाँच गराउँदा अस्पतालमा छातीको तीन सय पचास रुपैयाँ र हात र खुट्टाको तीन सय रुपैयाँ शुल्क तिर्दै आएका विरामीले बाहिरी क्लिनिकमा पाँच सय रुपैयाँ भन्दा बढी शुल्क तिरेर एक्सरे गराउँदै आएका छन् । भने भिडिओ एक्सरेको लागि बेनी अस्पतालमा पाँच सय तिरेका विरामीले बाहिरी क्लिनिकमा एक हजार रुपैयाँ भन्दा बढी शुल्क तिर्न बाध्य छन् । भोल्टेज अपडाउनको कारण एक्सरे कक्षमा रहेका प्रिन्टर र सिपियु जलेर नष्ट भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर जितेन्द्र कंडेलले जानकारी दिनुभयो ।

‘हप्ता दश दिन अघि अस्पताल भित्र भोल्टेज अपडाउनले क्षती पुगेको एक्सरे कक्षका प्रिन्टर र सिपियु मर्मतका लागि काठमाडौं पठाएका छौं । बनेर आयो भने एक एक दुई दिन भित्रै एक्सरे सेवा सुचारु हुन्छ ,’उहाँले भन्नुभयो । भोल्टेज अपडाउनका कारण पुर्ण रुपमा क्षती भएको प्रिन्टर मर्मत नहुने भएकोले अर्को खरिद गर्नुपर्ने उहाँले बताउनुभयो ।

अस्पतालमा एक्सरे सेवा उपलब्ध नहुँदा बाहिर चर्को शुल्क तिर्न बाध्य भएको मालिका गाउँपालिका–४, च्युरिबोटबाट श्रीमतिको उपचार गराउन अस्पताल आउनुभएका थगेन्द्र बिकले गुनासो पोख्नुभयो । अस्पताल बाहिरी क्लिनिकमा जाँच गराएको एक्सरेको रिपोर्ट ढिला आउँदा दुई दिन बेनीमा बस्नुभएका उहाँले दुखेसो पोख्दै भन्नुभयो ‘,गाउँबाट श्रीमतिको उपचारको लागि अस्पताल आएको अरु सबै ठिक छ ,एक्सरे सेवा अस्पतालमा उपलब्ध नहुँदा बाहिरी क्लिनिकमा चर्को शुल्क तिरेर एक्सरे गराउनुप¥यो । बाहिरी क्लिनिकमा पालो कुर्नुपर्ने भएकोले ढिला भयो ।’

‘बाहिरी क्लिनिकबाट सेवा लिँदा समय र पैसाको खर्च भएको छ ।’ ‘अस्पतालमा एक्सरे सेवा सस्तो थियो ,अस्पताल बाहिर सेवा लिँदा महङ्गो रहेछ,’भाईको उपचारको लागि अस्पताल आउनुभएकी देविस्थानकी दिवाना पुर्जाले भन्नुभयो । अस्पतलामा एउता मात्र एक्सरे मेसिन छ । केही समय अघि भोल्टेज अपडाउन हुँदा ल्याब ,फार्मेसी र क्यास क्यास काउण्टरको सिस्टम समेत जलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार