
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्टहरूको मनोबल बढ्नुमा कांग्रेस सभापति शेरबहादुर देउवा जिम्मेवार रहेको बताउनुभएकोे छ। १३ औं महाधिवेशनपछि कमजोर व्यक्तिको हातमा नेतृत्व गएकाले कम्युनिस्टको मनोबल बढेको सिंहले बताउनुभयो । १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा कांग्रेसको सभापति चुनिनुभएको थियो ।
काठमाडौं महानगरमा निर्वाचित पदाधिकारीहरूको शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै सिंहले कांग्रेस कमजोर भएकै कारण कम्युनिस्टहरूको मनोबल बढेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘१३ औं महाधिवेशनपछि कांग्रेसले कमजोर नेतृत्व पायो । परिणामस्वरूप कम्युनिस्टको मनोबल बढ्दै गएको छ । १४ औं महाधिवेशनबाट डायनामिक सभापति रोज्नुको विकल्प छैन ।’
पार्टीमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू नै वरिष्ठ रहेको बताउँदै उनले यसपटक कुनै हालतमा पछि नहट्ने उल्लेख गर्नुभयो । यसबारे देउवा र पौडेललाई जानकारी गराइसकेको बताउँदै सिंहले भन्नुभयो, ‘म सभापति बन्न नहुने कारण उहाँहरुले देखाइदिनुपर्यो । गणेशमानको परिवारले सधैं त्यागमात्र गर्नुपर्ने ?’
२०७२ सालमा भएको १३ औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै उहाँले भन्नुभयो, ‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ ?, के हामी सधैं अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?’ अनलाइनखबरबाट