
काठमाडौं । गठबन्धन सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री हुने भनेर बाहिर आएका नामहरुमध्ये स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको नाम पनि चर्चामा आएको थियो । तर, बुधबार सो पार्टीको स्थायी कमिटी बैठकले गजुरेलबाहेक चार जनाको नाम मन्त्रीका लागि टुंगो लगायो । बुधबारको माओवादी स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज, बोधमाया यादवको नाम मन्त्रीका लागि टुंगो लगाएको हो ।
चर्चा भएर पनि मन्त्रीका लागि पार्टीबाट सिफारिस नभएकोमा आफुलाई कुनै असन्तुष्टि नरहेको गजुरेलले बताउनुभयो । ‘म मन्त्री भइँन भनेर कुनै असन्तुष्टि र गुनासो छैन र अहिले पार्टीबाट छानिएका पात्रहरूबारे पनि कुनै गुनासो र टिप्पणी छैन’, गजुरेलले भन्नुभयो, ‘मैले पार्टीमा कसको नेतृत्वमा सरकारमा जाने भनेर छलफल गर्ने क्रममा मेरो नेतृत्वमा जाँउ भनेर प्रस्ताव गरेको कुरा सत्य हो ।’ उहाँले आफ्नो नेतृत्वमा सरकारमा जाँदा राम्रो परफमेन्स देखाउन सकिने र त्यसले पार्टीलाई समेत फाइदा पुग्ने देखेर प्रस्ताव गरेको बताउनुभयो ।
‘म केही गरेर देखाउन सक्छु भन्ने ममा दृढ विश्वास थियो र म गर्थे पनि । अहिलेका पात्रका बारेमा मेरो कुनै टिप्पणी रहँदैन खाली नेतृत्वको कुरा मात्रै मैले गरेको हो स्पस्ट दृष्टिकोण, क्षमतावान र पब्लिकसँग पनि राम्रो भएको व्यक्तिको नेतृत्वमा सरकारमा जानु भन्नु कुनै गलत होइन’, गजुरेलको भनाई छ । तर, सोही विषयलाई लिएर कतिपयले ‘मन्त्री नपाए ज्यान फाल्छु भनेर भन्यो’ षडयन्त्रपूर्वक ढंगले प्रचारबाजी गरिएको भन्दै त्यसमा कुनै सत्यता नरहेको दावी गर्नुभयो ।
नेकपा माओवादीबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्पा भुसाल ऊर्जा मन्त्री भैसक्नुभएको छ । तर माओवादीले कसको नेतृत्वमा पार्टी सरकारमा गएको हो भन्ने स्पस्ट पारेको छैन । पहिलो चरणमा मन्त्री भएकाहरु शर्मा भुसाल स्थायी कमिटी सदस्य हुन् भने अब सामेल हुन लागेका पौडेल पनि स्थायी कमिटी सदस्य हुन् । रातोपाटीबाट