धनगढी । सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन्। यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन्।आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ।
ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ। यस्तै, मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो। प्रदेश प्रहरीका कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी घाइते भएको अरू २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी, गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया पुलनजिकै ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। उनको प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ। पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेल्धुरामा २ घर भत्किएका छन् । सेतोपाटीबाट