जयनगर–जनकपुर रेल सेवा अविलम्ब सञ्चालनका लागि पहल गर्छु : मन्त्री यादव

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले जयनगर–जनकपुर रेल सेवा अविलम्ब सञ्चालनका लागि पहल गर्ने बताउनुभएको छ । यसका लागि आफूले भारतीय राजदूतसँग समेत कुराकानी गर्ने उहाँले बताउनुभयो । शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघको ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले अविलम्ब रेल सेवा सञ्चालनका लागि आफूले तत्कालै पहल गर्ने र यसका लागि भारतीय राजदूतसँग कुराकानी अगाडि बढाउने बताउनुभयो ।

मन्त्री यादवले अध्यादेश ल्याएर पनि जयनगर जनकपुरधाम (कुर्था) रेल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्नुभयो, ‘अहिलेसम्म कानुनी अड्चनका कारण समस्या थियो तर अब विधेयक पनि राष्ट्रिय सभाबाट फिर्ता भइसकेका कारण चाँडै नै अध्यादेशमार्फत रेल सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाउनेछु ।’

आगामी विवाह पञ्चमीदेखि रेल सेवा सञ्चालनमा ल्याउन संघका पदाधिकारीहरुले गरेको मागमा मन्त्री यादवले विवाह पञ्चमीदेखि नै सञ्चालन हुन्छ भन्ने ग्यारेन्टी नभए पनि चाँडै नै सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी गर्ने बताउनुभयो । उहाँले मन्त्रिपरिषदको बैठकमा रेल सञ्चालनको कुरा उठाउने जानकारी पनि दिनुभयो। अर्को प्रसङ्गमा मन्त्री यादवले विकास निर्माणको कामलाई प्राथमिकता दिने र जयनगर–जनकपुर रेलमात्र नभई अन्य रेल्वे निर्माण कार्यलाई समेत तीव्र गतिमा अघि बढाउने बताउनुभयो ।

संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाईमा बुझाइएको ज्ञापन पत्रमा भारत सरकारको सहयोगमा सीमावर्ती जयनगरदेखि बर्दिबाससम्म ७२ किलोमिटरमध्ये जयनगर–जनकपुर (कुर्था) सम्म प्रथम चरणको पूर्वाधार तयार भइसकेको र रेलको इन्जिन र बोगीसमेत किनेको एक वर्ष बितिसक्दा पनि सञ्चालन नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख छ । सो रेल सेवा सञ्चालनमा आउन नसक्दा राष्ट्रकै उद्योग, व्यवसाय तथा पर्यटनमा अत्यधिक नकारात्मक असर परेकोले अविलम्ब सञ्चालन गर्न पनि ज्ञापनपत्रमा माग गरिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार