म राजीनामा दिन्नँ : प्रधानन्यायाधीश

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिनुभएको छ । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गर्नुभएको थियो। सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको हो ।

आजको छलफलमा एक जना न्यायाधीशले प्रश्न उठेको बताउँदै सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गरेको सह रजिस्ट्रार प्रवक्ता बाबुराम दाहालले बताउनुभयो । जवाफमा जबराले बाहिरबाट दबाब आयो भन्दैमा आफूले राजीनामा नदिने स्पष्ट पार्नुभएको थियो। ‘मेरो नियुक्ति संविधानअनुसार भएको हो । मेरो बहिर्गमन पनि संविधान बमोजिम नै हुन्छ । बाहिरबाट दबाब आयो भन्दैमा राजीनामा दिने कुरा हुँदैन ।

केही श्रीमान्को विषयमा पनि प्रश्न उठेका छन् । के तपाईंहरु राजीनामा दिन सक्नुहुन्छ रु तपाईंहरु राजीनामा दिनुहुन्छ भने म पनि दिन्छु,’ जबराको भनाइ उद्धृत गर्दै दाहालले भन्नुभयो, ‘सडकको दबाबबाट न्यायालय चल्दैन । यसरी राजीनामा दिन थाल्यो भने न्यायालय बच्दैन । म पदमा रहुञ्जेल संवैधानिक दायित्व पुरा गर्न तयार छु । तपाईंहरुले पनि आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’

प्रधानन्यायाधीशसँग मंगलबार १५ जना न्यायाधीशहरु छलफलका लागि पुगेका थिए । सो छलफलपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका छन् । राजनीतिक नियुक्तिमा भागबण्डाका साथै न्यायिक स्वतन्त्रता र गरिमाविपरीत काम गरेको भन्दै यतिबेला प्रधानन्यायाधीश जबरा चौतर्फी आलोचनाको केन्द्रमा रहनुभएको छ । सोमबार ​न्यायाधीशहरूले प्रधानन्यायाधीशले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेका थिए । चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको र नेपाल बार पनि प्रधानन्यायाधीशको राजीनामा माग गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार