
बुटवल । रूपन्देहीका १६ मध्ये १२ पालिकामा नेकपा एमालेले अधिवेशन गरेको छ।बुटवल उपमहानगरसँगै १२ वटा पालिकाहरुमा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको हो।तीनवटा नगरपालिका र एउटा गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ।तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकामा अझै अधिवेशन भएको छैन।
अरु पालिकामा भने अध्यक्षलगायत सबै पदमा सहमतिमै नेतृत्व चयन गरिएको एमाले रुपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसीले बताउनुभयो।अध्यक्षका लागि छ जनाले आकांक्षा देखाएको बुटवलमा किशन ज्ञवाली सर्वसम्मत रुपमा अध्यक्ष चयन भए। शोभाखर पोखरेल उपाध्यक्ष भए भने सचिव र उपसचिव भने कसलाई बनाउने विषयमा छलफल भइरहेको छ।सैनामैना नगरमा चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । त्यस्तै शुद्धोधन गाउँपालिमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत चयन भएको एमालेले जनाएको छ।
एमाले उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमा नगरपालिकामा अझै सहमति जुट्न सकेको छैन। अध्यक्षको लागि चार जना आकांक्षी छन् । तिलोत्तमामा मीनप्रसाद पोखरेल, तामानाथ पाण्डे, सुरेन्द्र श्री र नेत्र वनको उम्मेदवारी रहेको छ। यहाँ सकभर निर्वाचनभन्दा पनि सहमतिमै नेतृत्व चयन गर्न खोजिएको नेताहरूले बताउनुभएको छ ।
साथै देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा पनि सहमति जुट्न सकेको छैन। लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको वीरेन्द्र मिश्राले जानकारी दिनुभयो।त्यस्तै गैंडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको सन्दीप गुप्ताले बताउनुभयो। गैंडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दीनानाथ आचार्यको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनिलकुमार कौशलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता सन्जय गुप्ताले बताउनुभयो।त्यस्तै मर्चवारिमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ। प्रमुख पद अध्यक्ष, उपाध्यक्ष तथा सचिवमा कुनै पनि पालिकामा महिला नेतृत्व भने आएको छैन। सेतोपाटीबाट