
काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । आज प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उहाँले राजीनामा दिने बताउनुभयो। विश्वासको मत लिने प्रस्तावमाथि मतविभाजन गर्न आज प्रदेश सभा बैठक बसेको थियो। विश्वासको मत नपाउने निश्चित भएपछि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा मिलेर अगाडि बढ्न यही बाटो ठिक हुन्छ भन्ने एमालेलाई लाग्यो। मन्त्रीहरू र दलको बैठक पनि बसियो। यसैगरी जाँदा राम्रो हुन्छ भनेर मार्गप्रशस्त गरेकी छु।’नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी शाक्य भदौ २ मा मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री बनेदेखि नै उनी अल्पमतमा पर्नुभएको थियो। उहाँले अल्पमतकै भए पनि सरकार चलाएको र प्रभावकारी काम गरेको दाबी गर्नुभएको थियो।
उहाँले आफूलाई सहयोग गर्ने सबैलाई धन्यबादसमेत दिनुभएको छ । प्रदेश सभामा बोल्दै उनले एकतावद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभएको थियो। प्रदेश विकास गर्ने हो भने सबै दल मिलेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो। अब बागमती प्रदेशमा विपक्षी गठबन्धनबाट मुख्यमन्त्री बन्ने भएका छन्। नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे भावी मुख्यमन्त्रीका रूपमा अघि बढ्नुभएको छ । सेतोपाटीबाट