
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै कायम राखिने बताउनुभएको छ । धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा अरु पार्टीसँग तालमेल गरिने बताउनुभयो ।
उहाँले पार्टीहरुसँग चुनावी सहकार्य हुने पनि बताउनुभयो । तर, पार्टीले तत्काल कसैसँग एकता भने नगर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले सुदूरपश्चिममा एकीकृत समाजवादी ठुलो दल बनाउन सफल भएको पनि बताउनुभयो । जनताले आफूहरुको पार्टीलाई माया गरेको पनि उहाँको भनाइ थियो ।
फरक प्रसंगमा नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताउनुभयो । आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता घटक एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, “हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।”
केही दिनअघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशको राजीनामाको माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताउनुभयो । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ । नागरिक खबरबाट