प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने योजना छैन : माधव नेपाल

कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने कुनै योजना नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाभियोगको विषयमा पाँच दलीय गठबन्धनमा कुनै छलफल नभएको बताउनुभयो ।

प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने कुरा न्यायपालिकालाई स्वतन्त्र रुपमा काम गर्न नदिने, हस्तक्षेप गर्ने, निरंकुशता चाहने केपी ओलीको खेल भएको उहाँको भनाइ छ । एक अर्को प्रशंगमा उहाँले अहिले ‘अर्ली कलेक्सन’ का विषयमा गठबन्धनमा कुनै कुरा नै नभएको बताउनुभयो । बरु उपनिर्वाचनका विषयमा भने छलफल भइरहेको उहाँको भनाइ छ ।

उहाँले आगामी दिनमा हुने स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा ५ दलीय गठबन्धनबीच सहकार्य हुने पनि प्रस्ट पार्नुभयो। आफूहरुले ठुलो त्याग र बलिदान गरेको पार्टीलाई फुटाउने र संस्थापनलाई लात हानेर हटाउने केपी ओलीको प्रवृत्तिका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी खोलेको उहाँले बताउनुभयो । केपी ओलीजीले एक्लै सरकार र पार्टी चलाउन खोजे, निरंकुशता हावी गर्न खोजे, तानाशाही बन्न खोजे, यस्ता प्रवृत्ति हाबी हुन नदिन नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको उहाँको भनाइ छ ।

आफ्नो पार्टीमा नेताभन्दा पनि विचार प्रधान हुने उहाँले बताउनुभयो । ‘हाम्रा नेता तथा कार्यकर्ताले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई ठुलो पार्टी बनाउन सफल हुनु भएको छ,’ उहाँले भन्नुभयो, ‘बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदै छन्, हाम्रो लागि आजको दिन खुशीको दिन हो ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार