बागमती प्रदेश : मन्त्रालयको भागवण्डा मिलाइयो

मकवानपुर । बागमती प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ । जसका लागि बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम र मन्त्रालयको भागवण्डा टुङ्ग्याएको हो । आजै प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् ।

उनले आजै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् । गठबन्धनको दलको तर्फबाट संसदीय दलको उपनेताहरु मन्त्री बन्ने निश्चित भएको नेपाली काँग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताए । सोही अनुसार नेपाली काँग्रेसका संसदीय दलको उपनेता कृष्णलाल भडेलको नेतृत्वमा आफ्नो पार्टी पनि प्रदेश सरकारमा सहभागी हुने उनले बताए ।

गठबन्धनको बैठकले भडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ । सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा एकीकृतबाट भने दलका उपनेता कृष्णप्रसाद खनाल मन्त्री बन्ने भएका छन् । खनाल यसअघि पनि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारमा मन्त्री बनिसकेका छन् ।

गत भदौ २ गते सामाजिक विकासमन्त्री नियुक्त भएका खनालले एमाले विभाजन भएपछि राजीनामा दिएका थिए । उनले १५ दिन एमाले नेतृत्वको सरकारमा सहभागी भएपछि नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए ।उनलाई गठबन्धनले पुनः सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको नेता बानियाँले बताए ।

नेकपा माओवादी केन्द्र दोस्रो पटक सरकारमा जाँदैछ । पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी शालिकराम जम्मकट्टेल र युवराज दुलालले पाएका थिए ।यसपटक भने नेकपा माओवादी केन्द्र संसदीय दलको उपनेता कुमारी मोक्तानको नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो । मोक्तानलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने गठबन्धनको निर्णय छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार