चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छः नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि एमाले अध्यक्ष केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको आरोप लगाउनुभएको छ । शुक्रबार बिहान नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले संविधान मिचेर गत पुस ५ र जेठ ७ मा ओलीले प्रतिनिधिसभा भंग गर्न गरेको दुस्साहसलाई पाँच जना न्यायाधीशहरूले रोकेर ऐतिहासिक फैसला गरेको बताउनुभयो ।

उहाँले आगामी निर्वाचन पछि एमालेलाई टर्च बालेर खोज्नु पर्ने अवस्था आउने दावी समेत गर्नुभयो । ‘हामीले गठन गरेको समाजवादीमा आकर्षण बढिरहेको छ,समाजवादी नै सच्चा कम्युनिस्ट भएको जनाको बुझाइ छ,’ उहाँले भन्नुभयो,‘हामीसँग सही विचार र देशलाई माया गर्ने संकल्प छ, अहिले समाजवादीलाई तथानाम भन्‍नेहरुलाई आगामी दिनमा टर्च बालेर खोज्ने दिन आउने छ ।’अध्यक्ष नेपालले एमाले पार्टी अध्यक्ष केपी ओलीसँगै सति जाने थालेको आरोप समेत लगाउनुभयो । एमाले अध्यक्ष केपी ओलीलाई कम्युनिष्ट पार्टी मन नपर्ने भएकोले उनले एकपक्षीय ढंगले पार्टीमा हैकम जमाएको बताउनुभयो ।

उहाँले एकीकृत समाजवादी वास्तविक कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आफुले नेपालमा कम्युनिष्ट पार्टी निर्माणमा लामो समयदेखि संघर्ष गर्दै आएकाको दावी गर्नुभयो । उहाँले तीनै तहको निर्वाचन एकै पटक गर्नु पर्ने बताउनुभयो । तीनै तहको निर्वाचन एकै पटक गर्दा देशलाई आर्थिक भार कम हुने यो नै विकल्प उत्तम हुने उहाँको भनाइ थियो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार