स्थलगत अवलोकनपछि मात्रै योजना कार्यान्वयनमा लैजान्छु : मन्त्री थापा

गलकोट । गण्डकी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यसअघिको सरकारले गरेका राम्रा योजनालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताउनुभएको छ ।

प्रेस सेन्टर बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पृथ्वी सुब्बा गुरूङ नेतृत्वको सरकारले ल्याएका वन, वातावरण तथा भू–संरक्षणका राम्रा योजनालाई अगाडि बढाउने, असफल भएका योजनाको समीक्षा गर्ने र केही नयाँ योजना लागू गर्ने बताउनुभएको हो।

‘अघिल्लो सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिन्छु असफल योजनाको कारण खोतल्छु र नयाँ योजना लागू गर्ने योजनामा छु’, मन्त्री थापाले भन्नुभयो, ‘अहिले नयाँ योजना लागू गर्नुपूर्व जनताको माग र भावनालाई स्थलगत रूपमा नै समावेश गर्न जिल्ला भ्रमणमा निस्केको छु।’ तीन दिने जिल्ला भ्रमणमा आएका उहाँले जिल्लाको थामानेटा, गलकोट, ढोरपाटन क्षेत्रलगायतको अवलोकन तथा जनतासँग भेटघाट गर्नुभएको थियो।

मन्त्री थापाले स्थलगत रूपमा सबै जिल्लाको भ्रमण सकेपछि मात्रै योजना कार्यान्वयनमा लैजाने बताउनुभयो। कृषि र धर्मलाई जोडेर पर्यटन क्षेत्रको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको छ भन्दै उहाँले अघिल्लो सरकारले थालनी गरेको मुस्ताङमा कस्तुरी प्रजनन केन्द्र अघि बढाइनेसमेत जानकारी दिनुभयो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार