सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीको दाबी

कैलाली । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग राख्ने भएको छ । सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने जनाएको हो ।

प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठुलो रहेकाले सरकारको नेतृत्व आफ्नै पार्टीले गर्न पाउनुपर्ने माग पार्टी नेतृत्वसँग राख्ने निर्णय गरेको सो पार्टीका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रवक्ता दुर्गा विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन हामी तोड्दैनौँ तर सरकारको नेतृत्व आफूहरुले पाउनु पर्ने माग ठुलो दल भएका नाताले स्वाभाविक रुपमा हामी राख्छौँ ।’ नेकपा एकीकृत समाजवादीले प्रदेश कमिटीका पदाधिकारीहरूको कार्य विभाजन समेत गरेको छ ।

जसअनुसार शेरबहादुर कुँवरलाई संगठन विभाग प्रमुख, हर्कबहादुर सिंहलाई पार्टी स्कुल विभाग प्रमुख, दिनेशचन्द्र सुवेदीलाई प्रदेश कार्यालय व्यवस्थापन प्रमुख, दीर्घ सोडारीलाई कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुख, तारा लामा तामाङलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख र माया भट्टलाई महिला फाँट प्रमुखको जिम्मेवारी दिइएको छ ।

नेकपा एकीकृत समाजवादीले प्रदेश कमिटीलाई १५१ सदस्यीय बनाएको छ । कात्तिक १० गते बसेको प्रदेश कमिटीको बैठकले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार प्रदेशमा तीन महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको प्रदेश अध्यक्ष विक्रम शाहीले बताउनुभयो ।उहाँले मंसिर ३ गते धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको बताउनुभयो । पार्टी सदस्यता वितरण तथा नवीकरण गर्ने लगायत पार्टीका विभिन्न कार्यक्रमसमेत तय भएको उहाँले जानकारी दिनुभयो।

कात्तिक २० गतेभित्र जिल्ला कमिटी गठन, पुनर्गठन र विस्तार गरिसक्ने निर्णय गरिएको प्रदेश इन्चार्ज गरिमा शाहले बताउनुभयो । उहाँले पार्टीको नगर तथा गाउँ कमिटी गठन कात्तिक मसान्तसम्म गरिसक्ने निर्णय भएको बताउनुभयो ।सो पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय पक्षले अनावश्यक रुपमा सिर्जना गरेको विवाद उच्च कुटनीतिक पहलबाट राष्ट्रहितमा समाधान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार