केपी ओलीको प्रतिक्रिया : एमालेको काम देखेर अताल्लिएकाहरूले षड्यन्त्र गरेर हटाए

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृवको प्रदेश सरकार ढले पनि एमाले नै पहिलो दल भएको बताउनुभएके छ । एकपछि अर्को प्रदेश सरकार ढलेर हाल एमाले केन्द्र र प्रदेशमा प्रतिपक्षमा पुगेको बारेमा प्रतिक्रिया दिँदै एमाले अध्यक्ष ओलीले देश बनाउने एमालेको संकल्प, काम र योगदान देखेर अत्तालिएकाहरुले अनेक षडयन्त्र गरेर सरकार हटाएको बताउनुभयो ।

उहाँले एमाले नेतृत्वको सरकार र पाँच दलीय गठबन्धनको सरकारले गरेको कामको फरक छुट्याउन जनतालाई सहज हुने प्रतिक्रिया दिनुभयो । चितवनको पटिहानीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले सबै दल मिलेर ५२ प्रतिशत पुर्‍याएर प्रदेशमा सरकार बनाएको तर आफ्नो दल एक्लै ४८ प्रतिशत रहेको दावी गर्नुभयो ।उहाँले आगामी निर्वाचनमा दुई प्रतिशत मत बढाएर एकल बहुमत ल्याउने बताउनुभयो ।

बढीमा १३ महिनाभित्र देशमा चुनाव गरिसक्नुपर्ने भन्दै एमाले अध्यक्ष ओलीले पाँच दलीय गठवन्धनमा रहेका कुनै पनि दलले एमालेसँग एक्लै चुनाव लड्न नसक्ने बताउनुभयो । उहाँले एमाले सिध्याए भनेर दंग नपर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव दिनुभयो । ‘हामीले जिताइदिएको हो, भोलि कसले बोकिदेला भनेर हिड्न परेको छ’ ओलीले भन्नुभयो, ‘माधव नेपालको हालत पनि उस्तै छ ।’ एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न आएका ओली माडीको अयोध्यापुरी गएका छन् । भगवान रामको जन्म माडीमा भएको बताउँदै आएका ओलीले त्यहाँ आयोजित सभालाई सम्वोधन गर्ने कार्यक्रम छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार