
मकवानपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो मान प्रतिष्ठा जोगाउनका लागि चाँडै नै पदबाट राजीनामा दिनुपर्ने सुझाव दिनुभएके छ । नेपाली काँग्रेस मकवानपुरले शुभ दीपावली, छठको अवसरमा हेटौँडामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले प्रधानन्यायाधीशले राणाले ढिला गरे न्यायालयमा गरेका सेटिङ खुल्दै गइरहेका कारण आफ्नो मान मर्यादाका लागि भए पनि पदबाट राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको हो ।
प्रधानन्यायाधीश राणाले बैलैमा विचार नपु¥याए अपमानजनक बहिर्गमन निश्चित रहेको उहाँको भनाइ थियो । प्रधानन्यायाधीशले विगतका प्रधानमन्त्रीहरुसँग गरेको सेटिङका कारण अहिलेको न्यायालय नै विवादमा फसेको उहाँले बताउनुभयो । ‘प्रधानन्यायाधीश संवैधानिक निकाय र राजदूत नियुक्तिमा गरेको सेटिङका कारण न्यायालयमा अहिलेको यो अवस्था आएको हो । अहिले सर्वोच्च अदालत ध्वस्त भएको छ ।’ नेता पौडेलले भन्नुभयो ।
फरक प्रशंगमा पौडेलले नेपाली काँग्रेस पार्टी कसैको भरमा खडा नभएको बताउनुभयो। नेता पौडेलले काँग्रेसको इतिहास र अस्तित्व कोही कसैको भरथेगबाट स्थापित नभएको जिकिर गर्नुभयो । नेता पौडेलले अरूको वैशाखी टेकेर उभिने पार्टी काँग्रेस हुन नसक्ने बताउनुभयो । उहाँले वर्तमान परिस्थितिमा काँग्रेस पाटी भित्रै आन्तरिक शुद्धीकरणको आवश्यकता रहेको बताउनुभयो ।
‘साँढे पाँच वर्षको अवधिसम्म पार्टीको महाधिवेशन गर्न नसक्ने काँग्रेसको नेतृत्वले अरू चुनाव गराउन वा भाग लिन सक्ला कि नसक्ला ?,’ उहाँको प्रश्न थियो ।नेता पौडेलले पाटीको क्रियाशील सदस्यको विवादले पार्टीलाई थप कमजोर बनाएको उहाँले बताउनुभयो । काँग्रेसले परिस्थिति र आवश्यकताको आधारमा निर्णय गर्ने क्षमता गुमाइसकेको नेता पौडेलले बताउनुभयो । सरकारको नेतृत्व लिएको ३ महिनासम्म मन्त्रीहरूको नियुक्ति हुन नसक्नुले नै काँग्रेसको निर्णय क्षमता छर्लङ्ग भएको उहाँले बताउनुभयो ।
केही आफ्ना व्यक्तिहरू लिएर पाटी कब्जा गर्ने परिपाटी त्याग्न नेता पौडेलले नेतृत्वलाई सुझाव दिनुभयो । पार्टी संगठनभित्र तानाशाह प्रवृत्ति हाबी भएको भन्दै उनले पार्टीको महाधिवेशन गरेर पाटी भित्रको तानाशाही फाल्नु पर्ने बताउनुभयो। काँग्रेसले केही व्यक्तिहरूका मात्र नभई सिङ्गो राष्ट्र र जनताको मुद्दाहरूलाई बोक्नु पर्ने उहाँको भनाई छ । रातोपाटीबाट