
दाङ । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहित पाँच जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीश राणाको मात्रै राजीनामा माग्नु गलत भएको उहाँले बताउनुभयो।
बिहीबार दाङको घोराहीमा पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले प्रधानन्यायाधीशसहित पाँचै न्यायाधीश ‘मतियारु रहेकोले सबैले राजीनामा दिनुपर्ने बताउनुभयो।प्रधानन्यायाधीश राणाले सरकारमा भाग खोजेपछि उहाँको राजीनामा माग भइरहेको छ। उहाँको राजीनामा माग गर्दै करिब एक सातादेखि न्यायाधीशहरू इजलास बसेका छैनन्।
प्रधानन्यायाधीशले सरकारमा भाग खोजेको विषयलाई लिएर न्यायाधीशहरू र नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् । तर एमाले नेता पोखरेलले भने परमादेश दिने सबैको राजीनामा माग्नुभएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कात्तिक ९ मा पालिका अधिवेशन उद्घाटन गर्दै परमादेश दिने सबै न्यायाधीशको राजीनामा माग्नुभएको थियो ।
सर्वोच्चले परमादेश दिएपछि गत असार २९ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको थियो । सर्वोच्चको परमादेशबाट तत्कालीन प्रधानमन्त्री ओली हट्नुभएको थियो। ‘पाँच जना न्यायाधीश सबैको निर्णयबाट फैसला आएको हो,’ पोखरेलले भन्नुभयो, ‘त्यसैले प्रधानन्यायाधीशको मात्रै राजीनामा माग्नु सही हैन, पाँचै जनाले राजीनामा दिनु पर्छ।’
संसद, कार्यपालिका र न्यायपालिकामाथिको जनविश्वास गुमेको दाबी पनि उहाँको थियो । जनादेशको बिकल्प नरहेको भन्दै नेता पोखरेलले जति सक्यो चाँडो निर्वाचन हुनु जरुरी रहेको बताउनुभयो । उहाँले माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) सँग एमालेले एकता नगर्ने पनि बताउनुभएको थियो।
‘माधव नेपाल, प्रचण्ड जनादेशलाई अपमानित गरेर गएका हुन्,’ उहाँले भन्नुभयो, ‘उनीहरुलाई एउटा जनादेशबाट आफ्नो हैसियत महशुस गराउनु छ। त्यतिबेलासम्म एकताको कुनै सम्भावना छैन।’उहाँले मंसिरमा हुने एमाले महाधिवेशनमा कुन पदमा उठ्ने भन्नेबारे पछि निर्णय गरिने बताउनुभयो। प्रतिनिधिहरूसँग छलफल गरेर कुन पदमा उठ्ने भन्नेबारे निर्णय गरिने उहाँको भनाइ थियो। सेतोपाटीबाट