
काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने निर्वाचनमा कांग्रेस एक्लै लड्ने बताउनुभएको छ । अरू पार्टीसँग तालमेल गरेर चुनाव लड्ने स्वभाव कांग्रेसको नभएको पनि उहाँको भनाइ छ।
सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भन्नुभयो, ‘कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै होइन, रूखबाहेक अन्यत्र कांग्रेसले भोट हाल्दैन।’सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन चुनावसम्म जाने संकेत गरिरहेका बेला थापाले अरूसँग मिलेर चुनाव लड्न नहुने बताउनुभएको छ।
थापाका अनुसार आगामी चैतरवैशाखमा स्थानीय तहको चुनाव र मंसिरसम्म संघीय चुनाव हुनेछ । उहाँले कांग्रेस पहिलो पार्टी बनाउने हो भने अहिले रहेका मतदाता जोगाउँदै थप मतदाता आकर्षित गरिनुपर्ने बताउनुभयो । ‘कांग्रेस पहिलो पार्टी बन्ने हो भने अहिलेको मतदाता जोगाउँदै ४३ लाख भन्दा बढी मत हामीले ल्याउनुपर्नेछ,’ उहाँले भन्नुभयो।
उहाँले गत निर्वाचनमा माओवादीसँग चितवनमा गठबन्धन गर्दा त्यसको नकरात्मक प्रभाव परेकोसमेत बताउनुभयो । साथै उहाँले १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने र अब महाधिवेशनको मिति नसर्ने बताउनुभयो। पार्टी नेतृत्व चयन गर्दा सक्षमलाई नेतृत्वमा पुर्याउनसमेत उहाँले आग्रह गर्नुभएको छ । सेतोपाटीबाट