
मकवानपुर । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले संविधानको रक्षा, संविधानको पूर्ण कार्यान्वयन र संघीयता जोगाउन आफूहरुले गठबन्धन बनाएको दाबी गर्नुभएको छ ।
सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उहाँले नेकपा एमाले सबैभन्दा असक्षम पार्टी भएको पनि दाबी गर्नुभयो । उहाँले पार्टी सञ्चालन गर्न, सरकार सञ्चालन गर्न एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली असक्षम भएको जिकिर गर्नुभयो ।
आफूसँग जनमत रहेको भनेर एमालेले दाबी गर्नुको कुनै अर्थ नरहेको पनि उहाँले प्रस्ट पार्नुभयो । केपी ओलीले र नेकपा एमालेले नसकेर नै विभिन्न प्रदेश र संघमा समेत एमालेले सरकारको नेतृत्व गुमाएको उहाँको भनाइ छ । उहाँले मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थनमा आफू र आफ्नो पार्टीले मत दिने पनि प्रस्ट पार्नुभयो । रातोपाटीबाट