प्रतिनिधिसभाको अवरोध हटाउन एमालेलाई गृहमन्त्रीको आग्रह

धनुषा । काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रतिनिधिसभामा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्नुभएको छ । मंगलबार जनकपुरधाममा जानकी मन्दिर दर्शनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँडले प्रतिनिधिसभा जनताका गुनासा, समस्यालगायतका कुराहरु सुन्ने थलो भएकाले अवरोध जारी राख्न नहुने धारणा राख्नुभयो ।

‘प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी पार्टीले अवरोध खडा गरेको छ, उहाँहरुलाई अवरोध अन्त्य गर्न आग्रह गर्दछु । राजनीतिकरुपमा देखिएका गतिरोधलाई अन्त्य गरौँ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले जनातका गुनासा, समस्यालगायतका कुराहरु राख्ने, सरकारले नीति नियम, विधेयक र कानून बनाउने थलो भएकाले प्रतिनिधिसभा नियमित संचालन भयो भने सरकारलाई समेत मद्यत पुग्छ । जनतालाई समेत भरोसा र विश्वास जाग्छ ।’

उहाँले राजनीतिको मुलधारमा नआएका पार्टीहरुसँग छलफल तथा संवाद गरेर राष्ट्रिय मुलधारको राजनीतिमा ल्याउने कोशिश भइरहेको समेत स्पष्ट पार्नुभयो ।सोमबार अबेर रातिसम्म चलेको प्रदेश सुरक्षा समितिको वैठकबारे जानकारी समेत गृहमन्त्री खाँडले गराउनुभयो । गृहमन्त्री खाँडले सुरक्षा सवालमा आन्तरिक र बाहिरी चुनौती संवदेनशीलता बढ्दै गएको बताउनुभयो ।

उहाँले बाहिरी तथा आन्तरिक सुरक्षाका सवालमा केन्द्र, प्रदेश र स्थानीय तहसँग सुरक्षा निकायको समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनुभयो । यसैबीच गृहमन्त्री खाँडलाई मैथिली विकास समितिले एक कार्यक्रम आयोजन गरि स्वागत तथा सम्मान गरेको छ । यस्तै उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र कुमार महासेठले व्यवसायीहरुको सुरक्षा समस्या र आवश्यकता बारे एक ज्ञापनपत्र समेत सो कार्यक्रममा बुझाउनुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार