नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले

काठमाडौँ । नेकपा (एमाले) को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ। महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ। पार्टी सदस्यबाट लेभि उठाउने निर्णय भएको हो। महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय उठाउने निर्णय भएको जानकारी दिनुभयो।

नेकपा (एमाले) को सदस्य सङ्ख्या सात लाख छ। यसबाट सात करोड उठ्ने अनुमान गरिएको छ। महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाइने उहाँले जानकारी दिनुभयो। लाभका पदमा रहेकाबाट समेत शुल्क उठाइँदै छ। पाण्डेका अनुसार उनीहरुबाट के कति उठाउने भन्ने बारेमा टुङ्गो लागिसकेको छैन। अन्यको लेभि उठाउन सर्कुलर गरी सकिएको उहाँले जानकारी दिनुभयो। महाधिबेशनमा बिद्युतीय उपकरणबाट मतदान गरिने छ। मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिने जनाइएको छ।

महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ। सो अवसरमा देशभरबाट पाँच लाखको हाराहारी नेता कार्यकर्ता उपस्थित हुने अनुमान गरिएको छ। बन्द सत्र सौराहाको बाघमारा चौरमा गरिँदै छ। सबै विभागबाट खर्चको अनुमानित रकम आइनसकेकाले के कति खर्च हुन्छ भने अनुमान गरिनसकेको पाण्डेले बताउनुभयो। यसअघि नवौं महाधिवेशनमा रु ६ करोड र त्यसअघि आठौंमा तीन करोड खर्च भएको उहाँले जानकारी दिनुभयो।

योसँगै नेकपा एमालेले बाहिर महाधिवेशनका लागि चन्दा नउठाउने देखिएको छ।नेकपा एमालेको केन्द्रिय समिति २२५ सदस्यीय छन्। तीमध्ये १५ पदाधिकारी रहेका छन्। पाण्डेका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ। उनीहरु महाधिवेशनबाट निर्वाचित हुने छन्। महाधिवेशनमा दुई हजार प्रतिनिधि सहभागी हुने सह–संयोजक पाण्डेले बताउनुभयो। बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार