प्रदेश १ सरकारले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने

विरातनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने हुनुभएको छ । चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरी अघिल्लो मंगलबार सपथ लिएका मुख्यमन्त्री राईलाई गठबन्धन दलबीच सत्ता भागबण्डा गरी छिटो सरकार विस्तार गर्नुपर्ने बाध्यता छ।

कात्तिक १५ मा निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि बहुमत सांसदको हस्ताक्षर बुझाएर कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएको राईले कात्तिक २६ गते विश्वासको मत लिने आन्तरिक तयारी गर्नुभएकोे थियो। तर, यस बीचमा दीपावली, छठ लगायतका चाडपर्व परेका कारण कात्तिक अन्तिममा विश्वासको मत लिएर मंसिर पहिलो साता मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको सरकारी स्रोतले जनाएको छ।

प्रदेशसभामा आज बस्ने भनिएको बैठक सूचना प्रकाशित गरि कात्तिक ३० गतेसम्मका लागि स्थगित भएपछि सरकारले एकैपटक ३० गतेतिर विश्वासको मत लिने योजना बनाएको हो। नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले मुख्यमन्त्रीले छिट्टै विश्वासको मत लिने बताउनुभएको छ।

‘छिट्टै विश्वासको मत लिएर मन्त्रिपरिषद विस्तार गर्ने र सरकार आफ्नो काममा क्रियाशील हुने भनिएको थियो तर, यस बीचमा छठ लगायतको पर्वले २३ गतेको बैठक स्थगित भयो,’ नेता घिमिरेले भन्नुभयो, ‘अब ३० गते वा मंसिरको सुरूमै विश्वासको मत लिने भन्ने विषयमा छलफल गरी निर्णयमा पुग्छौं।’उहाँले विश्वासको मत लिनुभन्दा दुई दिनअघि नै प्रदेशसभा सचिवालयलाई जानकारी दिनुपर्ने भएकोले भोजपुरबाट मुख्यमन्त्री फर्किएलगतै विश्वासको मत लिने समयको बारेमा छलफल गरी टुंगो गर्ने जानकारी दिनुभएको छ । उहाँले विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद विस्तारलगायतका काममा सरकारले ध्यान केन्द्रीत गर्ने बताउनुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार