नेपालमा विकास नहोस् भन्ने तत्वले एमसीसीबारे भ्रम छरे : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा विकास नहोस् भन्ने तत्वहरुले नै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी)बारे भ्रम छरेको बताउनुभयो ।

गृहजिल्ला गोरखामा पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका क्रममा भट्टराईले यस्तो धारणा राख्नुभएको हो । यसमा भारत,चीन र अमेरिका लागेको उहाँको आरोप थियो। एमसीसी सहयोग लिएर देश विकास गर्नुपर्ने उहाँको तर्क थियो । उहाँले एमसीसीबारे शंका नगर्न जनतालाई आग्रह गर्नुभयो। ‘एमसीसीले देश खान्छ भन्ने भ्रम हो ‘ उहाँले भन्नुभयो, ‘एमसीसी पास गरे यहाँ अमेरिकी सेना नेपाल आउँछ, नेपाल खान्छ भन्छन् ।

यी सबै भ्रम हुन्। के त्यस्तो भए,नेपाली सुरक्षाकर्मी के हेरेर बस्छ? हामी चुप लागेर बस्दैनौं नि !अहिले त हामी सहयोग लिने हो, विकास र समृद्धिमा लाग्ने हो, अहिले कसै सँग निहुँ खोज्ने अवस्थामा हामी छैनौं । पहिले हामी बलियो बन्ने हो अनि पो कसैले हेप्न सक्दैन। अहिले एउटाले सहयोग दिन लाग्दा अर्को देशले भ्रम छर्ने काम गरेको छ, यो गलत काम हो।’उहाँले सोमबारबाट पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान सुरु गर्नुभएको हो।

अभियान अन्तरगत उहाँले गोरखाका सबै गाउँपालिका/नगरपालिकामा घरदैलो गर्नेछन् । मंसिर ३ गते सम्म अभियान संचालन हुनेछ । अभियानका क्रममा भट्टराईले आफू भोट माग्न नभई जनताको वास्तविकता हेर्न र समस्या समाधानको पहल गर्न घर–घरमा आएको बताउनुभयो ।उहाँले सही राजनीति नभएसम्म देश नबन्ने ठोकुवा गर्नुभयो । अहिलेको राजनीतिक पार्टी र नेतृत्वले देशको विकास हुननसक्ने उहाँको दाबी थियो ।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपा(नेकपा) विभाजनलाई उदाहरण दिदैं भट्टराईले पुरानो पार्टीबाट अब विकास र समृद्धि सम्भव नहुने विश्लेषण गर्नुभयो । साम्यवादको अमूर्त कुरालाई छाडेर सबै राजनीतिक पार्टीलाई समाजवादी धारमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो। ‘दुईपटक विघटन भएर संसदले पुनर्जीवन पाएको छ। यससँगै तत्कालको लागि प्रतिगमनको खतरा टरेको छ। तर, राजनीतिक अस्थिरता, हरेक पार्टीभित्रको बेथिति, देश र राजनीतिको कथाव्यथा भने उस्तै छु भट्टराईले भन्नुभयो । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार