
काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक संयन्त्र आवश्यक नभएको बताउनुभएको छ । पाँचदलीय गठबन्धनबाट दुई–दुई जना र सरकारका प्रतिनिधिका रूपमा एक मन्त्री गरी ११ सदस्यीय समन्वय समिति गठन गरिएको थियो । उक्त समितिको संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल हुनुहुन्छ ।
दुई–दुई महिनामा उक्त समिति संयोजक परिवर्तन गर्ने सहमति गठबन्धनभित्र छ । तर सरकारलाई नियन्त्रण गर्ने खालका यस्ता संयन्त्र बनाउन जरूरी नै नरहेको कांग्रेस नेता सिंह बताउँनुहुन्छ । गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र आवश्यक नरहेको बताउनुभयो। ‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ,’ सिंहले भन्नुभयो । गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उहाँले बताउनुभयो ।
‘काम त सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उहाँले भन्नुभयो।उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उहाँको भनाइ थियो। ुनाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ। प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उहाँले भन्नुभयो ।
उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभयो । ‘न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन,’ उहाँले भन्नुभयो, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’फरक प्रसंगमा उहाँले अर्लीइलेक्सनको विरोध गर्नुभयो। उहाँले अब हुने चुनावमा कांग्रेस कसैसँग तालमेल नगर्ने पनि बताउनुभयो। ‘आफ्नै बलबुताले कांग्रेस चुनाव लड्छ,’ सिंहले भन्नुभयो। सेतोपाटीबाट